विश्वकै कान्छी प्रधानमन्त्रीलाई इस्टोनियाका राष्ट्रपतिले ‘सेल्स गर्ल’ भन्दाको तरंग

१ पुष २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


इस्टोनिया –  इस्टोनियाका राष्ट्रपतिले आफ्नो देशका आन्तरिक मामिला सम्बन्धी मन्त्रीले विश्वकै सबैभन्दा कान्छी ३४ वर्षीया फिनल्याण्डकी प्रधानमन्त्रीलाई ‘अ सेल्स गर्ल’ भनेकोमा माफी मागेका छन् ।राष्ट्रपति केस्टी काल्जुलेडले एक्रे पार्टीका ७० वर्षीय नेता मार्ट हेल्मेको सो भनाइबाट आफू लज्जित भएको जनाएकी छन् । फिनल्याण्डका प्रधानमन्त्री सान्ना मारिन यही डिसेम्बर १० का दिन ३४ वर्षको उमेरमा प्रधानमन्त्री भएकी हुन् । मन्त्री हेल्मेले आफ्नो विवादस्पद भनाई रेडियो टक शोका क्रममा राखेका थिए ।‘‘हामीले अहिले देखेका छौं कसरी एउटी सेल्स गर्ल प्रधानमन्त्री भइन् । र, कसरी अरु केही सडकका अभियन्ता र अशिक्षित मानिस मन्त्रिमण्डलमा सामेल भएका छन्,’’ उनले भनेका थिए ।

मारिन विश्वविद्यालयमा पढ्न जानुअघि एक सेल्स असिस्टेन्टको रुपमा काम गरेकी थिइन् । विपन्न परिवारमा जन्मेकी उनी राजनीतिमा त्यसपछि प्रवेश गरेकी हुन् । मारिनले ट्विटरमा जवाफ दिँदै आफू फिनल्याण्डप्रति गौरवान्वित भएको जनाएकी छन् । गरिब परिवारमा जन्मेको मानिस पनि शिक्षित भएर आफनो जीवनमा धेरै कुरा पाउन सक्ने जनाउँदै पसलको एक जना क्यासियर प्रधानमन्त्री पनि हुन सक्ने जनाएकी छन् ।विवादमा आएपछि हेल्मेले भने आफ्नो भनाइलाई गलत रुपमा बुझिएको जनाउँदै फिनल्याण्डका प्रधानमन्त्री समक्ष माफी मागेका छन् । इस्टोनियाका राष्ट्रपतिले आफ्ना फिनल्याण्डका समकक्षी साउली निनिस्टोलाई सन्देश पठाएर मारिन र उनको सरकारलाई आफ्नो तर्फबाट क्षमायाचना सुनाइ दिन आग्रह गरेकी छन् । बीबीसी

फेसबुकबाट तपाईको प्रतिक्रिया