साउदीमा पब्जी खेलेर नेपालीले जिते १० लाख पुरस्कार

प्रकाशित मिति:

पब्जी पछिल्लो समयका युवायुवतीले बढी खेल्ने इलेक्ट्रोनिक गेम। प्राय मानिसहरु मोबाइल र कम्प्युटरमा यही गेम खेलिरहेको हुन्छन्। पब्जीले कुलतमा फसाएको भनेर विभिन्न देशले यसलाई प्रतिबन्ध पनि लगाएका छन् । पब्जीको लत लागेका किशोरहरुमा मानसिक समस्याहरु देखिने गरेका छन्। ‘पब्जी’ लाई लिएर नेपालमा बारम्बार विवाद उब्जिन्छ । सरकारले प्रतिबन्ध पनि लगाउने निर्णय गर्‍यो । तर पछि फुकुवा पनि गर्यो। तर त्यही पब्जीको एउटा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएर नेपाली खेलाडीहरुको टिमले १० हजार डलर अर्थात १० लाख रुपैयाँभन्दा बढी पुरस्कार जितेको छ ।

साउदीअरबमा आयोजित पहिलो ‘पब्जी मोबाइल स्टार च्यालेन्ज वर्ल्डकप’ मा नेपाली युवाहरुको टिम ‘इलिमेन्ट्रिक्स’ले सहभागिता जनाएको थियो । ३२ राष्ट्रहरुले भाग लिएको प्रतियोगितामा नेपाली टिम सातौं भयो र १० हजार डलर पुरस्का् समेत जित्यो।

बनाना कल्चर नामक संस्थाले आयोजना गरेको प्रतियोगितामा मध्यपूर्व र उत्तर अफ्रिकाका १६ वटा टिम र बाँकी विश्वका १६ वटा टिमले प्रतिस्पर्धा गरेका थिए । प्रत्येक टिममा ५ जना खेलाडी थिए । पहिलो पुरस्कार रसियाको ‘टिम यूनिक’ले जितेको छ । उसले एक लाख डलर प्राप्त गर्‍यो । समूह चरणमा नेपाली टिम ५६ अंकसहित दोस्रो भएको थियो । फाइनलमा भने ४७ अंक मात्र ल्याएर सातौं बन्न पुग्यो ।