यस वर्ष पनि नेपाल प्रहरी उत्कृष्ट

प्रकाशित मिति:

काठमाडौ –  गृह मन्त्रालयले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई पुरस्कृत गर्ने भएको छ। बेरुजु फस्र्योटमा उत्कृष्ट काम गरेको भन्दै मन्त्रालयले महानिरीक्षक खनाललाई १० हजार नगदसहित पुरस्कृत गर्ने निर्णय गरेको हो।बेरुजु फस्र्योट मूल्यांकन तथा अनुगमन समितिले महानिरीक्षक खनालसहित पाँच जना प्रहरी कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको छ। नेपाल प्रहरी बेरुजु फस्र्योटमा पुनः उत्कृष्ट हुन सफल भएको छ। प्रहरीले २०७४/०७५ सम्मको कुल बेरुजु रकममध्ये ८८.५० प्रतिशत बेरुजु फस्र्योट गरेर उत्कृष्ट हुन सफल भएको हो । आर्थिक वर्ष २०७४/०७५ को लेखा परीक्षण भएको अंकमा १ दशमलव ८० प्रतिशत मात्र बेरुजु कायम गर्न सफल भई बेरुजु फस्र्योटको प्रगतिमा सर्वोत्कृष्ट स्थान प्राप्त गर्न सफल भएको गृह मन्त्रालयले जनाएको छ।

नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरले बेरुजु फछ्र्योटमा प्रहरी सर्वोकृष्ट हुन सफल भएको नेपाल समाचारपत्रलाई बताउनुभयो। उहाँले आगामी दिनमा प्रहरी संगठनले बेरुजु फछ्र्योटमा झन् उत्कृष्ट नतिजा हासिल गर्ने गरी काम गरिरहेको बताउनुभयो।
गृह मन्त्रालयले बेरुजु फछ्र्योटमा प्रत्यक्ष संलग्न बढीमा पाँच प्रहरी कर्मचारीलाई प्रति व्यक्ति ८ हजार रुपियाँका दरले पुरस्कार गर्ने निर्णय गरेको छ। गत मंसिर २४ गते बसेको मन्त्रीस्तरीय निर्णयले प्रहरी महानिरीक्षक खनाललाई पुरस्कृत गर्ने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ।

आर्थिक वर्ष २०७३/०७४ मा नेपाल प्रहरीमा कायम कुल बेरुजुमध्ये समग्रमा ८५ दशमलव १४ प्रतिशत बरुजु फछ्र्योट गरेको भन्दै गृह मन्त्रालयले प्रहरीलाई पुरस्कृत गरेको थियो। प्रहरी महानिरीक्षक खनालले नेतृत्व सम्हालेलगत्तै १० वटा प्राथमिकता निर्धारण गरेर कार्यान्वयनमा जुट्नुभएको थियो। उहाँले सांगठनिक सदृढीकरण, आन्तरिक शुद्धीकरण र भ्रष्टाचार शून्य सहनशीलताको नीति अँगाल्दै आउनुभएको छ। महानिरीक्षक भएसँगै दुईपटक प्रहरी बेरुजु फछ्र्योटमा उत्कृष्ट हुन सफल भएको छ।