प्रहरीलाई घुसदिने व्यपारी पक्राउ

प्रकाशित मिति:

श्रीकृष्ण सिग्देल/स्याङ्जा-वडा प्रहरी कार्यालय वालिङका प्रमुखलाई घुस दिने व्यापारी आफै फन्दामा परेका छन् । मंगलवार गोरुको ओसारपासार गर्ने भन्दै स्याङ्जाको वालिङ स्थित वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक निरन्जन घिमिरेलाई रकम दिएपछि ति व्यापारी प्रहरीको नियन्त्रणमा परेका हुन् । रुपन्देही जिल्ला बसन्तपुर गाँउपालिका ४ स्थायी घर भएका जहरुदिन मियालाई प्रहरीले नियन्त्रणमा लिएर रकम सहित अख्तियार दुरुपयोग अनुसन्धान अयोग पोखरा बुझाइएको जिल्ला प्रहरी प्रमुख जनार्दन जिसीले जानकारी दिए । वडा प्रहरी कार्यालय वालिङ प्रहरी निरिक्षकको कक्ष नम्वर १ मा मियाले गोरु ओसारपसारमा सहयोग गरिदिन भन्दै १५ हजार रकम टेवलमा राखिदिएका थिए ।

कार्यकक्षमा काम गरिरहेका प्रहरी निरिक्षक घिमिरेलाई रकम टेबुलमा राखिदिएपछि रकम सहित मियालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । रकम लेनदेनको अवस्था भएकाले यो अख्तियारलाई बुझाएको प्रहरी प्रमुख जिसीले बताए । वालिङ ८ मा विगत २० बर्षदेखि मियाले भैसीको मासुको व्यापार गर्दै आएका थिए । मियाले आफुलाई सहयोग हुन्छ भनेर रकम दिएको स्विकारेका छन् । प्रहरीले रकम नमागेको तर आफुलाई रकम दिएपछि प्रहरीबाट सहयोग हुन्छ भन्ने लागेर रकम दिएको मियाले बताए । मंगलबार नै प्रहरीले रकमको मुजुल्का, मेडिकल र थप अनुसन्धानका कागतजात तयार गरि अख्तियारलाई अनुसन्धानका लागि मियालाई बुझाएको छ । एकैचोटी मेरो कार्यकक्षमा मिया आए प्रहरी निरिक्षक घिमिरेले भने,“म गोरुको कारोवार गर्न लागेको छु हजुरलाई यो थोरै सहयोग हो भन्दै टेवुलमा रकम राखे ।” म त अलमल परे र तत्काल उनलाई रकम सहित नियन्त्रणमा लिएको हो घिमिरेले भने । प्रहरीलाई आर्थिक प्रलोभनमा पारेर तस्करी गर्न खोज्ने मियालाई प्रहरीले पक्राउ गरेको प्रति स्थानीयले प्रशंससा गरेका छन् । प्रहरीलाई रकम दिएर तस्करी देखि अन्य धन्दा गर्न सकिन्छ भन्ने मानसिकता बोकेकाहरुका लागि यसले राम्रो सन्देश दिएको स्थानीयको भनाई छ । प्रहरीलाई घुस दिन खोज्ने पक्राउ पर्नु स्याङ्जामा भने यो पहिलो घट्ना हो ।