रोटरी सैनामैनाको समन्वयमा मृगौला पिडित पौडेललाई २ लाख ४२ हजार आर्थिक सहयोग

प्रकाशित मिति:

सैनामैना /स्वार्थ भन्दा माथि सेवा भन्ने उद्धेश्यले संचालित रोटरी क्लव अफ सैनामैनाको समन्वयमा मृगौला पिडितलाई आर्थिक सहयोग गरिएको छ । सैनामैना ३ मुर्गिया निवासी दुबै मृगौला पिडित ४० वर्षीय विष्णु पौडेललाई क्लवले घरमै पुगेर २ लाख ४२ हजार १० रुपैँया आर्थिक सहयोग गरेको क्लवका अध्यक्ष प्रेम कुमार शर्माले जानकारी दिनुभयो ।बाग्लुङ् काठमाण्डौ सम्पर्क समाजद्धारा जापानमा रोजगारीको शिलशिलामा गएका नेपालीहरुबाट संकलित रकम रोटरीको समन्वयमा हस्तान्तरण गरिएको हो । समाजका सल्लाहकार गोपाल गिरी, रोटरी नेपाल जोन १६ का एसिस्टेन्ट गभर्नर इन्द्र रिसाल, क्लवका संस्थापक अध्यक्ष मिन प्रसाद पौडेल, क्लवका अध्यक्ष प्रेम कुमार शर्मा सागरले संयुक्त रुपमा चेक हस्तान्तरण गर्नुभयो । पौडेलको उपचारमा थोरै भएपनि आर्थिक सहयोग होस् भन्ने हेतुले सहयोग गरिएको अध्यक्ष शर्माको भनाई छ । पौडेल करिब ६÷७ वर्षदेखी मृगौला पिडित हुनुहुन्छ । पौडेलले २ वर्षदेखी मृगौलाको डायलासिस गराउँदै आउनुभएको छ ।

सो अवसरमा बोल्दै रोटरी नेपाल जोन १६ का एसिस्टेन्ट गभर्नर इन्द्र रिसालले सामाजिक उत्तरदायित्व बहन गर्दै बाग्लुङ् काठमाण्डौ सम्पर्क समाजले मृगौला पिडित परिवारलाई सहयोग गरेर समाजमा सकारात्मक सन्देश दिएको बताउनुभयो । रिसालले आर्थिक सहयोगले पिडितलाई केही राहत मिलेको बताउँदै मानवीय कार्यमा सबै जोडिनुपर्ने बताउनुभयो । आर्थिक अवस्था न्युन भएका र पैसाको अभाव भएर उपचारमा समस्या भएका परिवारका लािग रोटरीले पनि विगतका दिन पनि सहयोग गर्दै आईरहेको क्लवका संस्थापक अध्यक्ष मिन प्रसाद पौडेलले बताउनुभयो । मानवीय सेवा नै धर्म हो भन्ने भनाईलाई आत्मसात् गर्दै आगामी दिनमा सक्दो सहयोग गर्ने पौडेलले प्रतिबद्धता समेत जनाउनुभयो ।कार्यक्रम रोटरी क्लव अफ सैनामैनाका अध्यक्ष प्रेम कुमार शर्माको अध्यक्षता, रोटरी नेपाल जोन १६ का एसिस्टेन्ट गभर्नर इन्द्र रिसालको प्रमुख आतिथ्यता, क्लवका संस्थापक अध्यक्ष मिन प्रसाद पौडेल, बाग्लुङ काठमाण्डौ सम्पर्क समाजका सल्लाहकार गोपाल गिरीको विशिष्ठ आतिथ्यतामा सम्पन्न भएको हो । क्लवका सचिव अशोक रानाको संचालनमा सम्पन्न कार्यक्रममा रोटरी क्लव अफ सैनामैनाका कार्यसमिती पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो