राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका सार्वजनिक

प्रकाशित मिति:

काठमाडौँ /निर्वाचन आयोगले राष्ट्रिय सभाका सदस्यको निर्वाचन तालिका सार्वजनिक गरेको छ। आगामी माघ ९ गते हुने निर्वाचनको लागि बुधबार निर्वाचन आयोगले तालिका सार्वजनिक गरेको हो। आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ को दफा ६ अनुसार बुधबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो।कांग्रेसका ७ सहित १९ सांसदको कार्यकाल फागुनमा सकिँदै छ। पदावधि सकिन लागेका सांसदमा नेकपाका ८, राजपाका २, समाजवादीका १ र राष्ट्रपतिबाट मनोनीत अर्थमन्त्री युवराज खतिवडा  एकजना छन्।

सात सय ५३ स्थानीय तहका प्रमुख÷उपप्रमुख गरी १ हजार ५ सय ६ जना र प्रदेशसभाका ५ सय ५० जना सांसद राष्ट्रियसभा निर्वाचनका मतदाता हुन्। स्थानीय तह र प्रदेशसभाका सांसदले दिने मतभार भने फरक हुन्छ। स्थानीय तहका पदाधिकारीले दिने मतको भार १८ छ भने प्रदेशसभाका सांसदको मतभार ४८ निर्धारण गरिएको छ। दुवै तहको मतभार जोड्दा ५३ हजार ५ सय ८ हुन्छ।५९ सदस्यीय राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट ८ जनाका दरले सांसद निर्वाचित हुने व्यवस्था छ। ३ जना भने मन्त्रिपरिषद् सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुन्छन्। स्थायी सदन राष्ट्रियसभाका लागि पहिलोपटक गोला हालेर २, ४ र ६ वर्षे कार्यकाल निर्धारण गरिएको थियो। एक तिहाइ सांसदको कार्यकाल प्रत्येक दुई वर्षमा समाप्त हुन्छ। अब निर्वाचित हुनेको कार्यकाल भने ६ वर्षकै हुनेछ।