वामपन्थीद्वारा भारत बन्दको आव्हान

प्रकाशित मिति:

एजेन्सी, ३ पुस । नागरिकता संशोधन कानुनको विरोधमा भारतभर प्रदर्शन जारी छ । यसै क्रममा बिहीबार वामपन्थी दलहरुले भारत बन्दको आव्हान गरेका छन् ।
आज भारतका विभिन्न स्थानमा प्रदर्शनको तयारी भइरहेको छ । उत्तर प्रदेश, कर्नाटकसहित विभिन्न स्थानमा विशाल प्रदर्शन हुन लागेको हो । प्रदर्शनलाई मध्यनजर गर्दै भारतका कैयौं स्थानमा धारा १४४ लगाइएको छ ।राजधानी दिल्लीमा समेत धारा १४४ लगाइएको छ । यो धारा लागू भएसँगै एक स्थानमा ४ जनाभन्दा व्यक्ति भेला हुन प्रतिबन्ध लागेको छ । साथै नागरिकता संशोधन कानुनको विरोधमा हुन सक्ने प्रदर्शनलाई मध्यनजर गर्दै दिल्लीमा कैयौं मेट्रो स्टेशन बन्द गरिएको छ ।

दिल्लीका जामिया मिल्लिया इस्लामिया, जसोरा विहार, शाहीन बाग र मुनिरका मेट्रो स्टेशनमा प्रवेश तथा प्रस्थानमाथि रोक लगाइएको भारतीय समाचार माध्यमले जनाएका छन् ।
जामिया विश्वविद्यालयमा भएको तोडफोड र सीलमपुरमा भएको हिंसापछि भारतभर सुरक्षा सतर्कता बढाइएको छ । बेंगलुरु र मुम्बईमा उच्च सतर्कता अपनाइएको छ ।
मोदी सरकारले ल्याएको नागरिकता संशोधन विधेयक राज्यसभा र लोकसभाबाट पारित भएपछि भारतभर विरोध भएको हो । नागरिकतासम्बन्धी नयाँ कानुनमा अफगानिस्तान, पाकिस्तान र बंगलादेशबाट आएका गैर मुस्लिमहरुलाई नागरिकता दिने व्यवस्था गरिएको छ ।आसामसहित केही राज्यका स्थानीय आदिवासीहरुले बाहिरबाट आएका आप्रवासीलाई नागरिकता दिँदा आफ्नो संस्कृति र मौलिकतामाथि खतरा उत्पन्न हुने भन्दै नागरिकता संशोधन कानुनको विरोध गरिरहेका छन् ।त्यस्तै विपक्षी दलहरुले धर्मका आधारमा नागरिकता दिने कार्यले भारतको धर्मनिरपेक्षतालाई खिल्ली उठाएको भन्दै आपत्ति जनाएका छन् ।