पारस र मुस्तफाको अर्धशतकमा बुटवललाई कीर्तिमानी लक्ष्य

प्रकाशित मिति:

पोखरा – चितवनका कप्तान पारस खड्का र रोहन मुस्तफाको अर्धशतकको सहयोगमा पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत चितवन राइनोजले बुटवल ब्लास्टर्सलाई २०४ रनको कीर्तिमानी लक्ष्य दिएको छ । पोखरा रंगशालमा भइरहेको खेलमा चितवनले बुटवललाई २०४ रनको मध्यम लक्ष्य दिएको हो । पोखरा प्रिमियर लिगमा यो योगफल हाल सम्मकै सर्वाधिक योगफल हो । टस हारेर पहिले ब्याटिङ गरेको चितवनका लागि कप्तान पारसले अर्धशतकीय पारी खेले । ४० बल खेलेका पारसले ६ चौका र २ छक्काको सहयोगमा ६३ रन बनाएका थिए । पारसले ३५ बलमा ५ चौका र १ छक्काको सहयोगमा अर्धशतक पूरा गरेका थिए । पारस ११ ओभरको तेस्रो बलमा क्याच आउट भएका थिए । उनलाई अफताफ उदिन अहेमदले क्याच आउट गराए ।

त्यस्तै रोहन मुस्तफाले पनि चितवनका लागि नट आउट रनको अर्धशतकीय पारी खेले । ५६ बल खेलेका उनले ७ चौका र २ छक्काको सहयोगमा ७० रन बनाएका हुन् । मुस्तफाले ४४ बल खेल्दै ६ चौका र १ छक्काको सहयोगमा ५० रन पूरा गरेका थिए । चितवनका लागि आरिफ शेखले ४० रनको योगदान गरे । आरिफलाई अन्तिम ओभरमा अविनाश बोहोराले क्याच आउट गराएका थिए । बाबर हायत १ रन बनाउँदै आउट भए । उनलाई अफताफले क्याच आउट गराएका थिए । त्यस्तै सन्नी पटेलले ४ रनको योगदान गरे ।

आजको खेलमा दुवै टोली लगातार दोस्रो जितको खोजीमा छन् । चितवनले पहिलो खेलमा घरेलु टोली पोखरा पल्टनलाई ६ विकेटले पराजित गरेको थियो । यता बुटवल बलास्टर्सले काठमाडौं गोल्डेन वारियर्सलाई सुपर ओभरमा पराजित गरेको थियो । पारस खड्काको कप्तानीमा चितवन रहेको छ भने सोमपाल कामीको कप्तानीमा बुटवल छ । दुवै टोलीले दुई–दुई अंक जोडेका छन् । रन रेटको अन्तरले चितवन शीर्ष स्थानमा रहँदा बुटवल चौथो स्थानमा रहेको छ ।