नागरिकता कानूनको विरोधः नयाँ दिल्लीमा मोबाइल र इन्टरनेट बन्द

प्रकाशित मिति:

नयाँ दिल्ली – नयाँ नागरिकता संशोधन कानुन लागु भएसँगै भातरमा व्यापक विरोध पदर्शन जारी छ । देशका विभिन्‍न राज्यमा आन्दोलन चर्किरहेका बेला नरेन्द्र मोदी नेतृत्वको सरकारले राजधानी सहर दिल्लीमा मोबाइल, एसएमएस र इन्टरनेट सेवा काटिदिएको छ। विरोध चर्किँदै गएपछि दिल्लीको लाल किल्ला इलाकामा धारा १४४ लागु गरेर प्रदर्शन रोक्न खोजेको छ। तर धारा १४४ लागु गरिनुका बावजुद दिल्लीमा प्रदर्शन रोकिएको छैन। यसक्रममा कयौँ मानिसलाई प्रहरीले हिरासतमा लिएको छ।

त्यसलगत्तै टेलिकम कम्पनी एयरटेलले राजधानी दिल्लीका केही भागमा भ्वाइस, एसएमएस र इन्टरनेट सेवा बन्द गरिदिएको हो। एयरटेलका अधिकारीले एनडिटीभीलाई बताए अनुसार सरकारको आदेशमा दिल्लीका केही इलाकामा भ्वाइस, एसमएसए र इन्टरनेट सेवा बन्द गरिएको हो। यी सेवा सरकारकै आदेशमा सुचारु गरिने जनाइएको छ।

एयरटेलले ट्वीट गरेर यसको जानकारी दिएको थियो। तर उक्त ट्विट तत्कालै हटाइएको छ। नागरिकता संशोधन बिल लोकसभाबाट ९ डिसेम्बर २०१९ मा पास भइसकेको छ। ११ डिसेम्बर,२०१९ मा राज्यसभामा गृह मन्त्री अमित शाहले पेश गरेको बिल पास भएसँगै भारतमा हंगामा भएको हो। यो बिल पास भएर नागरिकता संशोधन कानुन बनिसकेको छ। यसको विरोधमा असम, बंगालसमेत देशका कयौँ राज्यमा विरोध प्रदर्शन तीव्र हुँदैछ। १५ डिसेम्बरमा यस कानुनको विरोधमा प्रदर्शनका क्रममा हिंसा भड्किएको थियो। यस प्रदर्शनमा केही विद्यार्थी र प्रहरी घाइते भएका थिए।