राष्ट्रियसभा निर्वाचन: नेकपा र राजपाबीच गठबन्धन

प्रकाशित मिति:

काठमाडौं – राष्ट्रियसभा निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले राष्ट्रिय जनता पार्टी (राजपा)सँग गठबन्धन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई पार्टीका शीर्षनेताले बुधबार गठबन्धन गर्ने सहमति गरेका हुन् । राष्ट्रियसभाको प्रदेश २ को सिट बाँडफाँट भएको हो । चारमध्ये दुई सिट नेकपा र दुई राजपाले लिने सहमति भएको नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङले जानकारी दिए ।


जसअनुसार आगामी माघ ९ गते सम्पनन हुने प्रदेश २ को राष्ट्रियसभा निर्वाचका लागि रिक्त हुने चार स्थानमध्ये अन्य पुरुष समूह र अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समूहको रिक्त दुई स्थानमा राजपाका उम्मेदवारलाई नेकपालले सहयोग गर्नेछ । त्यसैगरी महिला र दलित पुरुष समूहको दुई स्थानमा राजपाले नेकपाका उम्मेदवारलाई सहयोग गर्ने सहमति भएको छ ।

यस्तै, दुई पार्टीबीच राष्ट्रिय राजनीतिका समसामयिक विषयहरुमा नियमित रुपमा छलफल गर्ने र सहकार्यको प्रक्रियालाई अघि बढाउने सहमति भएको छ । १९ जना राष्ट्रियसभा सदस्यको दुई वर्षे कार्यकाल सकिन लागेसँगै माघ नौ गते राष्ट्रियसभाको निर्वाचन गर्ने निर्णय गरेको थियो । त्यसैअनुसार निर्वाचन आयोगले तयारी पनि थालेको छ ।