मेरो दिमागमा यौनको कुरा मात्र खेलिरहन्छ

प्रकाशित मिति:

– डा. राजेन्द्र भद्रा

म २५ वर्षीय अविवाहित युवक हुँ । मलाई हस्तमैथुन गर्न मन लागिरहन्छ र मेरो दिमागमा यौनको कुरा मात्र खेलिरहन्छ । के यो रोग हो ? यो समस्याको हल के छ ? म चार–पाँच महिनामा एक दिन कुनै केटीसँग सेक्स गर्छु । त्यो एक रातमा चार पटक यौनसम्पर्क हुन्छ । के यो स्वास्थ्यका लागि ठीक हो ? यौनसम्पर्क गर्दा किन मेरो अण्डाशय दुखेर आउँछ ?

यौनेच्छाको सञ्चालन र व्यवस्थापन

हामी सबै नै यौनिक हुन्छौं । प्रकृतिले नै हामीलाई यौनेच्छा प्रदान गरेको हुन्छ र यस्तो सबै स्वस्थ व्यक्तिमा हुन्छ । मानव जीवनका लागि भोक, निद्रा र प्यासजस्तै यौन पनि आवश्यक कुरा हो । मोटामोटी रूपमा हेर्दा यौनेच्छा अनि यौन उत्तेजनाको सञ्चालनमा विभिन्न प्रणालीहरू सक्रिय देखिन्छन् । एक त इन्डोक्राईन सिस्टम (endocrine system) अन्तर्गतका हर्मोन (रागरस) हरूले यौन उत्तेजना सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्छन्, जसमा टेस्टेस्टेरोनको विशेष भूमिका हुन्छ । त्यसै गरी अर्कातिर इन्द्रिय प्रणालीका साथमा स्नायुप्रणालीले पनि यसमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ । विशेष गरेर युवावस्थामा यौनेच्छा तीव्र हुने भएकाले यसको व्यवस्थापन भने सजिलो हुँदैन । यस्तो बेला दिमागमा यौनसम्बन्धी सोच आउनु स्वभाविक हो । यौनेच्छा स्वस्थ्य व्यक्तिको एक महत्वपूर्ण पाटो हो । हस्तमैथुन यौनेच्छा साम्य पार्ने एउटा उत्तम उपाय हो । यसलाई रोग मान्नुपर्ने कुनै कारण छैन ।

यसको हल के होला ?

प्यास लागे पानी पिउने वा भोक लागे खाना खानेजस्तै यौनेच्छा शान्त पार्ने कार्य गर्नु नै यसको हल हो । गहिरिएर हेर्ने हो भने यौनेच्छा हुनु समस्या हो भन्न मिल्ने अवस्था पनि छैन, किनभने यो स्वभाविक कुरा हो । तपाईंले यौनेच्छा शान्त पार्न हस्तमैथुनलाई प्रयोग गरिरहनुभएको छ र यो पनि सामान्य कुरा हो ।

यौनसम्पर्क राख्नु नै यौनेच्छा शान्त पार्ने प्रमुख क्रियाकलाप हो । तपार्इंले पनि केटीसँग यौनसम्पर्क राखेर आफ्नो यौनेच्छा शान्त पार्ने उपाय अपनाइरहनुभएको छ । विवाह गर्ने सामाजिक परम्परा यौनेच्छा शान्त पार्न गरिने एउटा सामाजिक उपाय पनि हो । तपाईंले याद गर्नुभएको होला, विवाहपूर्व यौनसम्पर्क गर्दा चियो–चर्चाको विषय हुन्छ भने विवाहपछि जति पटक यौन सम्पर्क गरे पनि त्यो चियोचर्चाको विषय हुँदैन । तपाईंको सन्दर्भमा तपाईंले यौनेच्छा शान्त पार्ने समस्याको हल गरिरहनुभएकै छ । तपाईंको यौन क्रियाकलाप तपाईंमा भएको यौनेच्छा शान्त तुल्याउन पर्याप्त भैरहेको नहुन सक्छ । त्यसैले पनि तपाईंको दिमागमा जुनसुकै बेला यौन वा यौनसम्पर्कका कुरा आइरहेको छ । तपाईंले यौनेच्छा अत्यधिक भएका कारणले वा यौन क्रियाकलाप नगरी बस्नै नसकिने र आफ्नो दैनिकी नै अव्यवस्थित हुने वा भएको कुनै संकेत दिनुभएको छैन । त्यसैले यौनेच्छा बढी भएजस्तो लाग्दैमा यसलाई रोग मान्नुपर्ने कुनै आधार छैन ।

चार–पाँच महिनामा रातभर यौनसम्पर्क

तपाईंले अपनाउनुभएको चार–पाँच महिनामा कुनै केटीसँग रातभरिमा चार पटकसम्म यौनसम्पर्क गर्ने उपायले तपाईंको यौनेच्छा शान्त पार्न पक्कै पनि सहयोग गरेको होला, तर तपाईंको सन्देशमा भएको सीमित जानकारीका आधारमा केही अन्य पक्ष पनि केलाउनुपर्ने हुन्छ । तपाईंले यौनसम्पर्क राख्नुभएको केटीको पृष्ठभूमि के–कस्तो हो ? तपाईंको उहाँसँगको सम्बन्ध कस्तो हो, प्रणयपूर्ण वा उहाँको यौनसेवा किन्ने ग्राहकको ? उहाँको यौनसम्बन्ध तपाईंसँगको मात्र छ कि अन्य व्यक्तिसँग पनि छ ? तपाईंको सम्बन्धको स्थायित्व कस्तो छ ? प्रत्येक चार–पाँच महिनामा राखिने यौनसम्पर्क एउटै महिलासँग हो वा

फरक–फरक ?

यहाँ भन्नै पर्छ कि जति धेरै व्यक्तिसँग यौनसम्पर्क राखिन्छ, एचआईभीलगायत यौनरोग लाग्ने सम्भावनासमेत बढी हुन्छ । तपाईंले यौनरोगको लक्षण जस्तै कि मूत्रद्वारबाट पीप आउने वा लिङ्गमा घाऊ हुने वा यौनाङ्ग क्षेत्रका ग्रन्थि सुन्निने जस्ता कुरा गर्नुभएको छैन । त्यसबाहेक यदि यस्ता सम्बन्ध देहव्यापारीसँगको हो भने तपाईंको चरित्रमा क्षति पुग्ने अनि विवाहेत्तर सम्बन्ध राख्ने बानी परे तपार्इंको वैवाहिक जीवनमा समेत असर पर्न सक्ने सम्भावना रहन्छ ।

अण्डाशय किन दुखेको ?

तपाईंले जहिले पनि यौनका बारेमा सोच्ने कुरा बताउनुभएको छ । पक्कै पनि यौन परिकल्पनाका साथै यौनाङ्गको स्पर्शजस्ता कुरामा संलग्न हुनुभएको होला, जसले यौन उत्तेजना सिर्जना गर्छ । यौन उत्तेजनापछि स्खलित नहुँदा पनि अण्डकोषमा पीडा महसुस हुन्छ । यौन उत्तेजित हुँदा हाम्रा यौन अङ्ग तथा त्यस वरिपरिको भागमा रक्तप्रवाह बढी हुन्छ । तपाईंलाई थाहै होला, लिङ्गको उत्तेजना पनि लिङ्गको विशेष तन्तुमा रगत भरिएर हुन्छ । लामो समयसम्म यौन उत्तेजना हुँदा वा यौन उत्तेजित अवस्थामा लामो समयसम्म बस्नुपर्दा अण्डकोष तथा प्रोस्टेट ग्रन्थिमा बढी रक्त प्रवाहका कारणले तरल पदार्थ (lymphatic fluid) जम्मा हुन पुग्छ, जसले गर्दा यी अङ्गहरू केही मात्रामा सुन्निन्छन् । यसका कारणले नै अण्डकोष वा यौनाङ्ग क्षेत्रमा केही पीडा वा असजिलो वा भारीपन अनुभव हुन्छ ।

अनौपचारिक बोलीचालीको अंग्रेजीमा यसलाई blue balls भनिन्छ । लामो समयसम्म बढी रक्त प्रवाह भएर त्यहीँ रहँदा त्यसमा अक्सिजन (प्राणवायु) को मात्रा कम हुन पुग्छ, त्यसैले यो केही गाढा रंगको हुन पुग्छ । त्यसैले यसलाई blue balls भनिएको हो । यस्तो स्थिति सिर्जना हुन नदिने एउटा प्रमुख उपाय वीर्य स्खलनको स्थितिमा पुग्नु हो । केही यौन संक्रमणले अण्डकोषसम्मै पुगेर त्यसलाई संक्रमित गर्न सक्छन् । यसो हुँदा अण्डकोष सुन्निने तथा दुख्ने हुन्छ । यस्तो निरन्तर भैरहेको छ भने चिकित्सकबाट जाँच गराउनुपर्छ ।

  • कान्तिपुर साप्ताहिक