सेन्टी भाइरस’ गीतमा ‘धुर्मुस सुन्तली’ को ‘फनफनी

प्रकाशित मिति:

काठमाडौँ /कलाकारिता हुँदै समाजसेवामा होमिएको हास्यजोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले निर्माण गरेको कमेडी फिल्म ‘सेन्टी भाइरस’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘फनफनी’ बोलको गीत बिहीबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरियो । मेलिना राई र कालीप्रसाद बाँस्कोटाको स्वर रहेको गीतमा शंकर थापा स्माइलले संगीत भरेका छन् । गीतको शब्द डिपी खनालले लेखेका हुन् । शंकर विसीको कोरियोग्राफी र शैलेन्द्र डि कार्कीको छायांकन रहेको गीतको भिडियोमा फिल्मका कलाकारहरु सिताराम र कुञ्जनासँगै दयाहाङ राई, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणी नेपाल, राजाराम पौडेललगायत ठुम्का लगाउँदै देखिएका छन् । त्यस्तै, गीतमा मोडल अञ्जली अधिकारीले आकर्षक नृत्य प्रस्तुत गरेकी छन् ।

गीतको अडियोअनुसार भिडियो भने औसत छ । गीतलाई दृश्यमा उतार्न निर्माण टिम लोकेशनमा चुकेको देखिन्छ । कोरियोग्राफर शंकर विसीले गीत खिचेको लोकेशन फिल्मको कथाको माग रहेको बताए । उनको कुरामा फिल्मका निर्देशक रामबाबु गुरुङले पनि सहमति जनाए । सार्वजनिक गीतबाट फिल्ममा सिताराम र कुञ्जनाको जोडी बाँधिएको अनुमान गर्न सकिन्छ । सुबिहानी फिल्मस् प्रा।लीको ब्यानरमा निर्मित यस फिल्ममा शंकरसँगै राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको पनि संगीत छ । २ करोडको लागतमा बनेको फिल्मको निर्माण डिन्डु लामा ह्योल्मोले गरेका हुन् । फिल्मका सह(निर्माता फूर्पा लामा हुन् । कुमार कट्टेल र दीपक आचार्यले लेखेको कथामा बनेको फिल्मको मुनाफाको २० प्रतिशत समाजसेवामा खर्च गरिँदैछ । गीत सार्वजनिक कार्यक्रममा फिल्मलाई शुभकामना दिन दीपाश्री निरौला, केदार घिमिरे, जितु नेपाल, अशोक शर्मा, रमेश उप्रेतीलगायत उपस्थित भएका थिए । कलाकार सिताराम भने निर्माणाधिन ‘क्रिकेट रंगशाला’ को काममा व्यस्त भएका कारण उपस्थित हुन सकेनन् । कुञ्जनाले यो फिल्मबाट आफ्नो बाल्यकालदेखिको अभिनेत्री बन्ने सपना पूरा भएकोमा खुसी व्यक्त गरिन् ।