श्री श्री महायोगी गुरु गोरखनाथको मुल मन्त्र

प्रकाशित मिति:

श्री गणेश  श्री भवानी शंकर आत्माखलु विश्वमुलम श्री सच्चिदानन्द सर्वेश्वर परमशिवको बारेमा वा उहाँको शक्तिहरुको बारेमा या साधु सन्त, महापुरुषहरुको बारेमा हामिले आफ्नो बुद्धि अनुरुप सिमित दायरा भित्र राखेर वर्णन गर्न खोज्नु मुर्खता हुन्छ, तर यसो भनेर पन्छिन मिल्दैन । यसैको वहानामा ति महेश्वर विशेषको उनैका शव्दहरुद्वारा पुजा गर्ने अवशर मिल्दछ ।नाथ शब्द वा यो नाम नै सृष्टिको मुल स्तम्भ हो । नाथ शब्दको अर्थ हुन्छ मोक्ष, मायाजेता, काम विजेता, सृष्टि कर्ता, स्वामी,परमपद, परमात्मा, ईश्वर, स्वयमप्रभु, विभु, रक्षक।परमप्रभु शिव गोरक्षको अत्यन्त रहस्यमय लीला भित्र नै अनन्त ब्रम्हाण्डको सृष्टि, स्थिति र लय चलिरहन्छ । सर्वेश्वर निरामय, अलख निरञ्जन, निर्विकार, निर्विकल्प तथा अगम्य अगोचर प्रभुको लीला प्रभु शिवको यो लीला निरन्तर भैरहन्छ ।भक्त विशेषलाई विशेष कृपा गर्न समय समयमा उनै प्रभुको गोरखनाथको रुपमा र अन्य विभिन्न कालखण्डमा विविध नामहरुमा स्वयं प्रभु शिवको नै अवतार हुन्छ ।वास्तवमा गुरु गोरखनाथ शैवधर्मालम्वीको परमोज्जवलचन्द्र हुनु हुन्छ ।नेपाल लगायत भारतका विभिन्न स्थानमा नाथ परम्परा कायमै छ । पाकिस्तानको रावलपिण्डी अन्र्तगत अझै पनि झेलम जिल्लामा गोरखनाथको  टिला  अवस्थित छ । पेशावरमा  गोरखटहरी  र बलुचिस्तानमा लालवेला रियासतमा पनि  गोरखधुनि  कायमै छ । उहाँकै नामबाट गोरखा र गोरखा जातिको नाम रहेको सर्वविदितै छ ।

भारतका पंजाव गुजरात, मध्येप्रदेश, आसाम, बंगाल, कर्णाटक, महाराष्ट्र, उत्तर भारत , उडिसा आदि स्थानमा उहाँको विशेष महत्व रहदै आएको छ । तिब्बतमा उहाँलाई अन्य विविध नामद्वारा पुजा गरिन्छ ।वास्तवमा गुरु गोरक्षनाथ प्रतिपादित विषय भनेको नाडी प्रशोधन प्रक्रिया हो । यो नै जीवलाई शिवसम्म पुर्याउने तरिका हो । योगको माध्यमबाट सबै रोगको हरण मुक्ति र प्रमाद रहित सात्विक जीवनचर्य संगै भुमा चैतन्यमय परम शिव सगं जीवको एकाकार गराउनु श्री श्री महायोगी गुरु गोरखनाथको मुल मन्त्र हो, शिक्षा हो ।श्री “गोरक्ष योग संहिता” “कायाबोध” “सिद्ध सिधान्त सग्रह” आदि ग्रन्थहरुमा श्री महायोगीले सदाशिव रुपी परमतत्व को सिधान्त प्रतिपादन गर्नुभएको छ । वास्तवमा श्रीमदभागवत गीता सहित समस्त सनातनी हिन्दु शास्त्रहरु केवल योग कै विषयमा वर्णन गरिएका हुन । र गुरु गोरक्षनाथले पनि यसै योगको विशिष्ट सर्वोपरी महत्व प्रकाश पार्दै उस परम योग को निम्ति विशेष मार्ग प्रस्तुत गर्नुभएको हो ।मनुष्य शरीर एक स्तम्भरुपी घर हो, यसमा एकमुख, दुई आखाँ, दुई कान, दुई नाकको प्वाल, एक गुदद्वार र एक लिगं सहित नौ ओटा द्वारा छन । यस मनुष्य शरीरमा पंच अधिदेवहरु स्थित छन् । पृथ्वीको अधिदेव ब्रम्हा, जलका नारायण, तेजका शंकर, वायुका ईश्वर र आकाशका सदाशिव हुन ।शरीर स्थित यी अधिदेवहरु लाई जसले जान्दछन उही नै सिद्धयोगी हुन ।जय जय गोरख ।।।जय जय काली ।।।श्री गोरखा दर्शन ।