सिजिपिए ३.८६ सहित त्रिभुवन विश्वविद्यालयबाट एमबिए टप गर्ने गुल्मीकी मिरा ज्ञवालीका तस्विर

प्रकाशित मिति:

काठमाडौ – त्रिभुवन विश्वविद्यालयमा एउटा पात्र अहिले चर्चाको शिखरमा छिन् । स्कुल अफ म्यानेजमेन्टको एमबिए तहमा सर्वोकृष्ट अंक प्राप्त गर्ने मीरा ज्ञवालीको प्रसंशा जताततै छ । उनलाई बधाईको ओइरो लागेको छ । एमबिए तहमा सर्वोकृष्ट अंक प्राप्त गरेर उनले त्रिविको इन्द्रभक्त श्रेष्ठ स्वर्णपदक प्राप्त गरेकी छिन् । गुल्मी स्थायी घर भएकी मीरा ज्ञवाली सानैदेखि अब्बल विद्यार्थी थिइन् । उनी अहिलेसम्म दोस्रो हुनु परेको रेकर्ड छैन । बिहीबार त्रिविको ४५ औँ दिक्षान्त समारोहमा हजारौँको उपस्थिति थियो । हजारौँको भीडमा एमबीए तहमा अध्ययरत विद्यार्थीमध्ये सर्वोत्कृष्ट घोषित भएर गलामा गोल्ड मेडल पहिरिँदाको क्षण उनका लागि सुनौलो अर्थात् गोल्डेन बन्न पुग्यो ।

सीपीजीए ३.८६ ल्याएर ‘श्री इन्द्र भक्त श्रेष्ठ’ स्वर्ण पदक प्राप्त गरेकी उनी प्रमाणपत्र र गोल्ड मेडल लिएर स्टेजबाट झर्दै गर्दा उनमा खुसी, हर्ष, उत्साहको झल्को प्रष्ट देख्न सकिन्थ्यो। गुल्मीको महेन्द्र माविबाट २०६३ सालमा एसएलसी दिएकी उनी गुल्मी जिल्लाको महिलातर्फ सर्वोत्कृष्ट भएकी थिइन्। २८ वर्षीया मीरा स्नातकको पनि गोल्ड मेडलिस्ट हुन्। पढाइमा अब्बल भएकै कारण उनले हरेक समेस्टर छात्रवृत्तिमा नै पढेकी हुन्। मीरा भन्छिन्, ‘पढाइमा मेरा दुई भाइ पनि निकै अगाडि छन्। उनीहरुले पनि छात्रवृत्तिमा नै पढेका हुन्। एक भाइ डाक्टर छ अर्को इन्जिनियर।’

मीरा हाल २ वर्षदेखि राष्ट्रिय वाणिज्य बैँक पुल्चोक शाखामा सहायक बैँक म्यानेजरको रुपमा कार्यरत रहेकी छिन्। उनको नाम लोकसेवा नतिजाको लिस्टमा पनि सबभन्दा माथि पहिलो प्रयासमा नै आएको थियो। छात्रवृत्तिमै पढेपछि त बाआमाको लगानी बचाउनुभयो है ? भन्ने प्रश्नमा मीरा हाँस्दै भन्छिन्,‘ हामी नै हो त हो बाआमाको सम्पत्ति। हाम्रो सफलता देखि उहाँहरु निकै खुसी हुनुहुन्छ।’दीक्षान्तमा उनको श्रीमान् पनि साथै आएका थिए। मीराका श्रीमान् विदुष नेपाल भन्छन्, ‘सँगै पढेका हौँ, उनको उद्देश्य त पीएचडी नै गर्ने छ। र, म उनीसँगै छु।’ सधैँ पहिलो हुन के गर्नुपर्छ त ? यस विषयमा मीरा भन्छिन्,‘आफ्नो पढाइमा सय प्रतिशतदिने कोसिस गर्नुपर्छ। त्यसपछि सफल त भइहालिन्छ नि ? ’

हेरौ तस्विर