लुम्बिनी वाणिज्य क्याम्पसमा विविएसका विद्यार्थीहरुलाई स्वागत कार्यक्रम

प्रकाशित मिति:

मोहन पौडेल /बुटवल – बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा स्वागत कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । विविएस दोश्रो वर्षका विद्यार्थीहरुको आयोजनामा विविएस प्रथम वर्षमा अध्ययनरत नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि एवं क्याम्पस प्रमुख प्रा. डा. तारा प्रसाद उपाध्यायले क्याम्पस मानित् विश्वविद्यालय तर्फ अग्रसर भइरहेको बताउदै यस प्रकारको विद्यार्थीहरुको सक्रियताले यसमा इटा थप्ने काम गरिरहेको बताउनुभयो ।

क्याम्पसमा देशका विभिन्न स्थानवाट विविएस प्रथम वर्षमा एघार सय नयाँ विद्यार्थी भर्ना भएका र यति धेरै संख्याका विद्यार्थीलाई स्वागत गर्न विद्यार्थी स्वंय अग्रसर भएर कार्यक्रम आयोजना गरेकोमा खुशि प्रकट गर्नुभयो । विशिष्ट अतिथि एवं सहायक क्याम्पस प्रमुख विष्णु जोशीले विद्यार्थीहरुकैे कडा मिहिनेत र लगनशीलताले नै क्याम्पसको उचाई यहासम्म पुगेकाले नवआगन्तुक विद्यार्थीहरु पनि सो पथमा लम्कि क्याम्पसको गरिमा कायम राख्न सफल हुने विश्वास व्यक्त गर्नुभयो ।  त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि एवं विविएस कार्यक्रम संयोजक यज्ञ प्रसाद दिक्षितले शुभकामना मन्तव्य राख्दै नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्नुभयो । साथै उहाले क्याम्पसले विद्यार्थीहरुको हरेक रचनात्मक गतिविधिलाई सम्मान गर्ने भएकोले यसप्रकारको कार्यक्रम आयोजना गरेकोमा विद्यार्थीप्रती धन्यवाद ज्ञापन गर्नुभयो ।

विविएस दोश्रो वर्षका लक्ष्मी शर्मा र हिमाल पाण्डेको स्वागत मन्तव्य रहेको कार्यक्रममा नवआगंतुक विद्यार्थी विविएस प्रथम वर्षका देविलाल कंडेल र पुजा पाठकले नेपालकै सर्वोत्कृष्ट सामुदायिक क्याम्पसमा पढ्न पाउनु आफ्नो लागि सुनौलो अवसर रहेको बताउनुभएको थियो ।  विविएस दोश्रो वर्षका विद्यार्थी नितेश खरेलको सभापतित्वमा भएको स्वागत कार्यक्रमको सञ्चालन दिलिप जिसि, मोनिका गैरे र सुनिल पोखरेलले गर्नुभएको थियो । कार्यक्रममा नवआगन्तुक विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गर्दै स्वागत गरिएको थियो भने बुटवलका स्थानिय कलाकारका साथै क्याम्पसका विद्यार्थीहरुले समेत सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।