औद्योगिक व्यापार मेला : पर्यटन प्रवद्र्धनका लागि पर्यटकीय स्थल सहितको सेल्फीजोन

प्रकाशित मिति:

बुटवल – बुटवल उद्योग बाणिज्य संघले बुटवलको देवीनगरमा सञ्चालन गर्न लागेको औद्योगिक व्यापार मेलामा पर्यटन प्रवद्र्धनकालागि यस क्षेत्रका पर्यटकीय स्थलहरुलाई समेटेर सेल्फी जोन बनाएको छ । मुलुकको अर्थतन्त्रको बिकासकालागि पर्यटनलाई प्रमुख आधार मान्दै संघले मेलामा पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राखेको संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक खिमबहादुर हमालले जानकारी दिनुभयो । ‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मुल नाराका साथ सञ्चालन गर्न लागिएको ‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ मा सचिवालयकै सामुन्य हुनेगरी पर्यटकीय स्थलहरुलाई समेटेर सेल्फी जोन निर्मााण गरिँदै छ ।

सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई लक्षित गरेर आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनकालागि निर्माण गरिने सेल्फीजोनमा भैरहवामा निर्माण हुँदैगरेको अन्तर्राष्ट्रिय गौतमबुद्ध बिमानस्थल, लुम्बिनी, बुटवलको ऐतिहासिक जीतगढी किल्ला, सिद्धबाबा मन्दिर, पाल्पाको ऐतिहासिक भगवती मन्दिर, भैरवस्थान मन्दिर, गुल्मी रुरु क्षेत्रको ऋषिकेश मन्दिर अर्घाखाँचीको सुपादेउराली मन्दिर लगायतका पर्यटकीय स्थलहरु समेटिने संघका महासचिव तथा सचिवालय व्यबस्थापन समितिका संयोजक दिनेशप्रसाद श्रेष्ठले जानकारी गराउनु भयो । पर्यटन प्रवद्र्धनकैलागि मेलाको मुलद्वार अंग्रेजलाई पराजित गरेको ऐतिहासिक जीतगढी किल्लाको आकृतिमा निर्माण गरिएको संघका कार्यसमिति सदस्य तथा मेला प्रचारप्रसार उपसमितिका संयोजक मुक्ति अधिकारीले जानकारी गराउनु भयो । औद्योगिक उत्पादन प्रवद्र्धनकालागि आयोजना गरिएको औद्योगिक व्यापार मेला उत्पादक र उपभोक्तालाई जोड्ने पुलको रुपमा स्थापित भएको र मेला औद्योगिक प्रवद्र्धनसंगै मुलुकको अर्थतन्त्रमा समेत योगदान पुग्ने संघले बिश्वास लिएको छ ।

मेला सफल बनाउने राजनीतिक दलहरुको प्रतिवद्धता

बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले सञ्चालन गर्न लागेको औद्योगिक व्यापार मेला सफल बनाउनकालागि राजनीतिक दलका नेताहरुले प्रतिवद्धता व्यक्त गरेका छन् । मेला सचिवालय बुटवल उपमहानगरपालिका वडा नं. ११ देवीनगरमा शुक्रबार बसेको बैठकमा राजनीतिक दलका नेताहरुले सरकारले गर्ने काम नीजि क्षेत्रबाट सञ्चालन हुँदै आएकाले यो मेला यहाँका राजनीतिक दलहरुको समेत गौरवको बिषय भएकाले मेलालाई सफल बनाउनकालागि राजनीतिक दलको तर्फबाट हर तवरले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरका हुन् ।

बुटवल उद्योग बाणिज्य संघको आयोजनामा यहि पुसका ९ देखि २३ सम्म बुटवल उपमहानगरपालिका वडा नं. ११ देवीनगरमा २० औैं संस्करणको औद्योगिक व्यापार मेला बुटवल सञ्चालन हुँदैछ । मेला सञ्चालनका बिषयमा आयोजना गरिएको बैठकमा बोल्दै नेकपा बुटवल नगर कमिटीका अध्यक्ष बाबुराम पन्थिले मुलुकको अर्थतन्त्रको सुदृणीकरणकालागि औद्योगिक बिकास आवश्यक रहेको र औद्योगिक बिकासकालागि हुने काममा पार्टीको पूर्ण सहयोग रहने बताउनु भयो । उहाँले मेला सञ्चालन गर्ने सन्दर्भमा पार्टीको तर्फबाट पूर्ण रुपमा सहयोग गर्ने बताउँदै त्यस बिचमा पार्टीका तर्फबाट कुनै पनि बन्द हड्तालका कार्यक्रम नहुने प्रतिवद्धता व्यक्त गर्नुभयो । त्यस्तै नेपाली काँग्रेस बुटवल नगर समितिका उपसभापति बिमलराज भट्टराईले बुटवलमा हुने मेला बुटवलबासीकै गौरव भएकाले मेला सफल बनाउने बिषयमा नेपाली काँग्रेसको तर्फबाट पूर्ण सहयोग रहने बताउनु भयो । उहाँले मेला अवधिमा नेपाली काँग्रेसको तर्फबाट कुनै पनि बन्द हड्तालका कार्यक्रम नहुने बताउँदै अन्य राजनीतिक दलहरुलाई पनि यो कुरामा प्रतिवद्धता व्यक्त गर्न आग्रह गर्नुभयो ।

बैठकमा राजपाका बुटवल नगर अध्यक्ष राजेन्द्र अग्रहरी, राप्रपा प्रजातान्त्रिकका निरजप्रताप खाँण, राष्ट्रिय जनमोर्चाका अध्यक्ष तुलसीराम शर्मा, राप्रकाका ईशाद आलम मियाँ, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष हरिसुन्दर बासी, नेकपा मालेका भरत पराजुल, नेकपा क्रान्तिकारीका मानबहादुर कुवँर, नेकपा सचिवालय सदस्य सुदिप न्यौपाने लगायतले मेलालाई सफल बनाउने प्रतिवद्धता व्यक्त गर्दै आफ्नो आफ्नो पार्टीको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । बैठकमा संघका पूर्व अध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंघका सदस्य सुरेन्द्रप्रसाद श्रेष्ठले उपत्यका बाहिर पहिलो पटक बुटवल उद्योग बाणिज्य संघले बुटवलमा मेला गरेर औद्योगिक प्रवद्र्धनको थालनी गरेको बताउनु भयो । बैठक संघका अध्यक्ष खिमबहादुर हमालको अध्यक्षतामा भएको थियो ।