महिला फुटबलको उपाधी दुर्गा माविलाई

प्रकाशित मिति:

पोसकान्त पोखरेल  बुटवल । बाउन्नकोटी सामुदायिक बन उपभोक्ता समीति (चिमटिप) रुपन्देहीको आयोजनामा पुष १ गतेबाट सुरु भएको महिला फुटबल प्रतियोगिताको उपाधी दुर्गा मावि तिनपा दुर्गानगर, रुपन्देहीले हात पारेको छ । खेलको पहिलो दिन ठुठिपिपल माविलाई ठुटिपिपल, सियारी गाउँपालिका, रुपन्देहीलाई पेनाल्टी सुटमा १–० गोलले पछाडी पार्दै अगाडी बढेको माविले खेलको अन्तिम अर्थात फाइनल राउण्डमा पनि पशुपति मावि कोटिहवालाई १–० गोलले पछाडी पार्दै खेलको उपाधी हात पार्न सफल भएको हो । खेलको पहिलो दिनको पहिलो खेलमा दुर्गा मावि र ठुटीपिपल मावि बीच भएको थियो । भने सोही दिनको दोश्रो खेल पर्ल मावि तिनपा कोटिहवा र पशुपति मावि तिनपा कोटिहवा बीच भएको थियो । पर्ल मावि र पशुपति मावि बीच भएको खेलमा पशुपति माविलाई पर्ल माविले ५–० गोलले हराएको थियो । पशुपतिलाई ५ गोलले हराएपनि पर्ल माविको चलाखीपूर्ण घुषपैठको कारणले पशुपतिले खेलमा पुन प्रवेश पाएको थियो । विग्रदो संस्थाको छविलाई बचावट गर्नको लागि नक्कली विद्यार्थीहरु खडा गरेर खेल खेलाएको प्रमाणित भए सँगै पर्ल मावि दुई बर्षका बाउन्नकोटीद्वारा आयोजना हुने कुनै पनि खेलमा सहभागी हुन नपाउने गरी समीतिले निस्कासन गरेको थियो ।

पर्ल माविको चलाखीपूर्ण कामले खेललाई दुई दिन सम्म प्रभावित बनायो । पूर्व निर्धारित समय अनुसार ३ गते हुने फाईनल खेल सरेर ५ गते पुग्यो । ४ गते भएको दोश्रो चरणको खेलमा खेलको सुरु मै बाई पाएको टिकुलीगढ मावि तिनपा टिकुलीगढ र पर्ल मावि सँग पराजित भएको पशुपति मावि खेलको मैदानमा उत्रिएका थिए । पशुपति मावि र टिकुलीगढ मावि बीच भएको खेलमा पशुपति माविले टिकुलीगढ माविलाई १–० गोलले पराजित गर्दै फाईनल राउण्डमा प्रवेश गरेको थियो । फाईनल राउण्डको लागि शनिबार भएको दुर्गा मावि र पशुपति मावि बीचको खेलमा दुर्गा माविले पशुपति माविलाई १–० गोलले पराजित गरेसँगै प्रथम पुरस्कारको विजेता बन्न सफल भयो । दुर्गा माविको जित सँगै खेलमा पशुपति मावि तिनपा कोटिहवा दोश्रो, टिकुलीगढ मावि तिनपा टिकुलीगढ तेश्रो र ठुटिपिपल मावि सियारी गापा चौथो भएका छन् । बनको खेल मैदानमा भएको खेलमा प्रथमलाई ५० हजार रुपैयाँ, द्वितीयलाई ३० हजार रुपैयाँ, तृतीयलाई २० हजार रुपैयाँ, सान्तवनालाई दश हजार रुपैयाँ पुरस्कार सहित ट्रफि, मेडल र प्रमाणपत्र सहित बनका अध्यक्ष तथा प्रमुख अतिथी भोला प्रसाद यादब, खेल संयोगक मिना पाण्डेले लगायतले सम्मान गरेका थिए । साथै खेलमा उत्कृष्ट गोल किपरमा दुर्गा माविकी ईशा थापा र उत्कृष्ट खेलाडीमा पशुपति माविकी विन्दु चौधरी पनि पुन सम्मानमा परेका थिए ।