पदक बिजेता खेलाडीलाई कराँते संघद्वारा सम्मान

प्रकाशित मिति:

तिलोत्तमा । भारतको पन्जावमा सम्पन्न प्रथम अन्तर्राष्ट्रिय गजुरियो खुला कराँते खुल्ला प्रतियोगितामा पदक जित्न सफल नेपाली खेलाडीलाई शनिबार सम्मान गरिएको छ ।७ स्वर्णसहित १३ पदक जित्न सफल नेपाल रेन्बुकाई कराँते डो संघमा आवद्ध नेपाली खेलाडीलाई संघले तिलोत्तमाको भलवारीमा एक समारोहका बीच प्रमाणपत्रले सम्मान गरेको हो । विभिन्न तौलमा प्रतिष्पर्धा गरेका नेपाली खेलाडीले ७ स्वर्ण, ३ रजत र ३ कास्य पदक जितेका थिए । सम्मानित हुनेमा स्वर्णपदक बिजेता खेलाडीहरु सफल गौतम, युजिन गुरुङ, निर्मल हमाल, शिवम माली, जुलिया पुन, कमल चौधरी, हरिचन्द्र चौधरी रहेका छन् । त्यस्तै रजत पदक बिजेता प्रजिन थापा, समुन्द्रसिंह राना, सविन श्रेष्ठ र कास्यपदक बिजेता विराट कार्की, सुजल चौधरी र मनोज बराल पनि सम्मानित भएका छन् ।  बिजेता खेलाडीहरुलाई सम्मान गर्दै प्रदेश पाँच प्रदेश सभाका अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति दधिराम न्यौपानेले खेल क्षेत्रको विकासबिना समृद्ध नेपाल र सुखी नेपालीको नारा सार्थक नहुने भन्दै मानिसको स्वास्थ्य र मुलुकको पर्यटन विकासका लागि समेत खेलकुद अपरिहार्य रहेको बताए । “समृद्ध नेपाल र सुखी नेपालीका लागि नागरिक स्वस्थ हुन जरुरी छ, त्यो खेल क्षेत्रबाट मात्र संभव छ”–उनले भने–“स्वास्थ्य र पर्यटनका लागि खेल क्षेत्रलाई अघि बढाउनु अपरिहार्य छ ।

खेल क्षेत्रमा लगानी बढाउन प्रदेश सरकारले छलफल गरिरहेको भन्दै सत्तारुढ दलका नेता न्यौपानेले सबै स्थानीय तहका प्रत्येक वडामा खेल मैदान, कभर्डहल जस्ता संरचना निर्माणका लागि प्रदेश सरकारले योजना बनाइरहेको पनि बताए । उनले खेलाडीहरुलाई प्रोत्साहन गर्न र अगाडि बढ्नका लागि आर्थिक रुपले पनि उनीहरुलाई सम्मान र संबोधन गर्नुपर्नेमा जोड दिए ।कार्यक्रममा नेपाल रेन्बुकाई कराँते संघका केन्द्रीय अध्यक्ष रेशमलाल लामा तामाङले खेल खेल्नुमात्रै ठूलो कुरा मात्र नभएको भन्दै परिणाम प्राप्त गर्नु खेलाडीका लागि मात्र नभएर राष्ट्रकै लागि गौरवको विषय भएको बताए । खेलाडीहरुले जितेको रेकर्ड सम्बन्धित सरकारी निकायमा पठाउन प्रशिक्षकहरुलाई आग्रह गर्दै उनले त्यसो नभए खेल जितेको अर्थ नहुने र लगानी त्यसै खेर जाने पनि बताए ।संघका रुपन्देही जिल्ला अध्यक्ष प्रेम जिएमले नेपाली खेलाडीले आफ्नै मिहिनेतमा अन्तराष्ट्रय प्रतियोगितामा सहभागी भएर पदक प्राप्त गर्नु गौरवको विषय भएको बताए । त्यस अवसरमा संघका प्रशिक्षक मोहम्मद अलीलाई समेत सम्मान गरिएको थियो ।कार्यक्रममा संघका उपाध्यक्ष सुवाश परियार, सचिव युवराज पराजुलीलगायतले पनि खेलाडीहरुलाई निरन्तर खेल क्षेत्रमा अनुशासित भएर लाग्न आग्रह गरेका थिए ।कार्यक्रमकै अवसरमा संघका केन्द्रीय अध्यक्ष रेशमलाल तामाङले रुपन्देहीमा हालै चेयन भएको नयाँ नेतृत्वलाई प्रमाणपत्र प्रदान गरेका थिए । नेपाल कराँते रेन्बुकाई डो संघ रुपन्देहीको हालै भएको अधिवेशनले प्रेम जिएम अध्यक्ष, सुवाश परियार उपाध्यक्ष, मनु श्रेष्ठ महिला उपाध्यक्ष, युवराज पराजुली सचिव, रविन जोशी सहसचिव, हरिचन्द्र थारु कोषाध्यक्ष, विनायक घिमिरे सहकोषाध्यक्ष र पदमा राना, ओमप्रकाश बिक, अव्दुल हक, भोला क्षेत्री, धनेश्वर क्षेत्री र सतिश सापकोटा सदस्य रहेको नयाँ नेतृत्व चयन गरेको थियो ।