ट्र्याक्टरमै सुत्केरी, गाउँपालिकामा छैन एम्बुलेन्स

प्रकाशित मिति:

विजयनगर – कपिवस्तुको विजयनगर गाउँपालिका–५ कटुवा गाउँकी एक महिलाले ट्र्याक्टरमा नै बच्चा जन्माएकी छन् । सुत्केरी ब्यथा लागेपछि अस्पताल ल्याउने क्रममा उनले ट्र्याक्टरमा नै बच्चा जन्माएका हुन । आज बिहान विजयनगर गाउँपालिका–५ कटुवा गाउँकी उर्मिला कोइरी सुत्केरी ब्यथाले छट्पटाएपछि परिवारले घरमा रहेको लु३त २४४८ नंको ट्र्याक्टरमा राखेर चन्द्रौटा ल्याउँदा उनले ट्र्याक्टरमा नै छोरा जन्माएका हुनख । विजयनगर गाउँपालिकामा एम्बुलेन्स उपलब्ध छैन् । गर्भवती महिला त्यो पनि सुत्केरी ब्यथाले च्यापेको अवस्थमा ट्र्याक्टरमा उफार्दै करीब १५ किलोमिटरको दूरी पार गरी उर्मिलालाई चन्द्रौटा ल्याउँदै गर्दा बच्चा जन्मिएको हो ।

चन्द्रौटा होटल अगाडि बीच शहरमा उर्मिलालाई ब्यथाले च्यापेपछि बच्चा जन्मिएको हो । बिहान १० बजे बच्चा जन्मेपछि अस्पताल नै नपुगी घर फर्किन लागेको उर्मिलाका सासू कमलावती कोरीले बताए । गाउँमा एम्बुलेन्स नहुँदा ट्र्याक्टरमा ल्याउँदा यो जाडोयाममा बच्चा जन्मिएको उनले बताए । गाउँपालिकामा गतिलो स्वास्थ्य संस्था नभएकाले आफूले डेलिभरी गराउन शिवराज नगरपालिकाको चन्द्रौटामा ल्याउनुपरेको परिवारले बताएका छन् ।

“गाउँपालिकाले हालसम्म एम्बुलेन्स खरीद नगर्दाको आफू जस्तै गाउँपालिकाका अरु बासिन्दाले पनि पीडा भोगिरहेको छ”, स्थानीवासी कलम कोरीले भने, “भगवानको कृपाले मेरो बुहारी र बच्चाको स्वास्थ्य अवस्था सामान्य छ नत्र यस्तो समस्यामा जे पनि हुनसक्थ्यो ।” गरीब छौँ स्थानीय तहले एम्बुलेन्सका लागि कुनै पहल नगर्दा समस्या भएको उनको भनाइ छ । यता विजयनगर गाउँपालिकाले एम्बुलेन्स खरीद र सञ्चालनका लागि प्रयास र पहल भने नगरेको होइन । यो आर्थिक वर्षमा एम्बुलेन्स खरीदका लागि गाउँपालिकाले रु १५ लाख बजेट विनियोजन गरेको गाउँपालिकाले जनाएको छ । यो वर्ष दातृ निकायबाट सहयोग प्राप्त भयो भने दुई वटा एम्बुलेन्स सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।