विद्यालयको सबलिकरणको लागि आन्तरिक चाहना आवस्यकः मन्त्री गिरि

प्रकाशित मिति:

बुटवल – सामुदायिक विद्यालयहरु कमजोर देखिदै गएको गुनासो बढिरहेकोले विद्यालय र समग्र सामुदायिक शिक्षालाई माथि उठाउन त्यहाँ संलग्न पक्षहरुको विद्यालय सुधार गर्ने चाहना वृद्धि हुनुपर्ने प्रदेश ५ का उद्योग, वन तथा पर्यटन मन्त्रि लिला गरीले बताएका छन । उनले उक्त कुरा बुटवल स्थित कालिका मानवज्ञान माविको ४९ औ वार्षिकोत्सव कार्यक्रम अन्तर्गत आयोजित छात्रवृति वितरण तथा सम्मान कार्यक्रममा व्यक्त गरेका हुन् । अभिभावक, शिक्षक र व्यवस्थापन समितिले सामुदायिक विद्यालयको शिक्षाको स्तर सुधार्न ठोस कार्यक्रम सहित अघि बढेमा त्यस्ता विद्यालयलाई प्रदेश सरकारले श्रोतको अभाव हुन नदिने प्रतिबद्धता मन्त्री गिरीले गरे । कार्यक्रममा बोल्दै उनले भने “ जबसम्म विद्यालयसँग जोडिएका पक्षहरुएल विद्यालयको अवस्था सुधार्न ध्यान दिदैनन, तबसम्म बाहिरबाट जति सहयोग गरेपनि काम लाग्दैन । त्यसैले विद्यालयहरुले आन्तरिक रुपमा विद्यालय सुधार्ने अठोट लिएर अघि बढेमा सामुदायिक विद्यालय सुधार गर्न समय लाग्दैन । ”

कार्यक्रममा बोल्दै उनले सामुदायिक विद्यालयले राम्रो शिक्षा दिन सक्दैनन् भन्ने भ्रमलाई कालिका मानवज्ञान विद्यालयले चिर्न सकेको र यो विद्यालयले गरेका राम्रा शैक्षिक अभ्यासहरू अरु विद्यालयले समेत गरेमा सबै सामुदायिक विद्यालयहरु गुणस्तरीय शिक्षाको केन्द्र बन्न सक्ने कुरामा जोड दिए । कार्यक्रममा विद्यालयमा विभिन्न दाताहरुले राखेको अक्षयकोषबाट ९९ जना विद्यार्थीलाई छात्रवृति प्रदान गरिएको थियो । सोहि कार्यक्रममा लामो समय अध्यापन गरेर हाल निवृत जीवन बिताइरहेका शिक्षक छबि नेपाल र नैनकला थापा तथा दिर्घसेवी शिक्षक सुदर्शन रेग्मी, सरस्वति थापा र प्रमिला गुरुङ्गलाई सम्मान गरिएको थियो ।

छात्रवृति वितरण कार्यक्रममा बोल्दै कालिका मानवज्ञान माविका प्रधानाध्यापक घनश्याम पाठकले विद्यालयले शुरु गरेको सबैको लागि गुणस्तरीय शिक्षा अभियानलाई सघाउन विभिन्न व्यक्तिहरुले विद्यालयमा ७२ लाख ६६ हजार मूल राशि रहेको ४१ वटा छात्रवृति अक्षयकोष स्थापना गरेको र त्यहि अक्षयकोषको ब्याजबाट विपन्न र जेहेन्दार विद्यार्थीलाई छात्रवृति, उत्कृष्ट शिक्षा तथा दिर्घसेवी शिक्षकलाई सम्मान गर्नुका साथै वर्षभरी शिक्षाको क्षेत्रमा उत्कृष्ट रिपोर्टिंग गर्ने २ जना पत्रकारलाई कालिका स्वर्ण महोत्सव शिक्षा पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको जानकारी दिए । विद्यालयको वार्षिकोत्सव मूल समारोह पौष ७ गते हुनेछ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेल प्रमुख अतिथि रहने उक्त समारोहमा शिक्षा पत्रकारिता पुरस्कार र उत्कृष्ट शिक्षक सम्मान प्रदान गरिने विद्यालयले जनाएको छ ।

शर्मा र कंडेललाई शिक्षा पत्रकारिता पुरस्कार – कालिका मानवज्ञान माविको स्वर्ण महोत्सवको अवसरमा वि.स. २०६७ सालमा स्थापित शिक्षा पत्रकारिता पुरस्कार अक्षयकोषबाट प्रदान गरिने शिक्षा पत्रकारिता पुरस्कार यसवर्ष  टोपराज शर्मा र एनबी कंडेल लाई प्रदान गरिने भएको छ । पुरस्कार मुल्यांकन समितिले विद्युतीय माध्यम तर्फ अनलाइनखबरका वरिष्ठ सम्बाददाता टोपराज शर्मा र छापा माध्यमतपÞर्m बुद्धभूमि नेपाल साप्ताहिकका सम्पादक एनबी कंडेललाई प्रदान गर्ने निर्णय गरेको छ । रुपन्देही जिल्लालाई केन्द्रित गरि शिक्षा विषयमा वर्षभरी गरिएका रिपोर्टिंगलाई आधार बनाएर उक्त मुल्यांकन गरिएको थियो. शर्मा र कंडेललाई पुष ७ गते हुने वार्षिकोत्सव मूल समारोहमा पुरस्कृत गरिनेछ ।