कर तथा लेखा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न 

प्रकाशित मिति:

बुटवल/रुपन्देही सुनचाँदी व्यवसायी संघ र आन्तरीक राजस्व कार्यालय बुटवलको संयुक्त आयोजनामा सुनचाँदी व्यवसायीहरुलाई आईतबार बुटवलमा एक दिने कर तथा लेखा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । व्यवसाय गर्दा कसरी शुरु गर्ने, के कस्ता क्षेत्रमा कर लाग्छ, व्यवसायीहरुले लेखा प्रणाली कसरी राख्ने जस्ता बिषयमा जानकारी गराउने उदेश्यले कार्यक्रम गरिएको हो ।
सो अवसरमा आन्तरीक राजस्व कार्यालय बुटवलका प्रमुख धु्रवराज ज्ञवालीले कर र लेखा प्रणालीका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले धेरैजसो व्यवसायीहरुले आफ्नो व्यवसाय शुरु गर्दा कर र लेखा प्रणालीबारेमा अनविज्ञ हुँदा समस्या आउने गरेकाले बुझेर व्यवसाय गर्दा सहज हुने बताउनुभयो । उहाँले व्यवसायीले राज्यलाई कर तिर्न कुनै समस्या नहुने भन्दै लेखा प्रणाली चुस्त राख्न सुझाव दिनुभयो ।

कार्यक्रममा रुपन्देही सुनचाँदी व्यवसायी संघका अध्यक्ष एम.बि विश्वकर्माले सुनचाँदी व्यवसायीहरुमा कर र लेखाका बारेमा जानकारी नहुँदा व्यवहारिक कठिनाई भोग्नुपरेको भन्दै सचेतना कार्यक्रमले त्यसलाई चिर्न सहयोग गर्ने बताउनुभयो । रुपन्देही सुनचाँदी व्यवसायी संघका आठ वटा शाखाका कार्यसमितिहरुको सहभागितामा सचेतना कार्यक्रम गरिएको हो ।
संघका अध्यक्ष एम.बि.बिश्वकर्माको अध्यक्षता, आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख धु्रवराज ज्ञवालीको प्रमुख आथित्य, सचिव किशोर सेन्चुरीको सञ्चालनमा भएको कार्यक्रममा आन्तरिक राजश्व कार्यालयका अधिकृत गोपिकृष्ण पाण्डेले बोल्नुभएको थियो ।