डाइपर उद्योगमा तीन दाजुभाइ

प्रकाशित मिति:

सबलपोष्ट । भनिन्छ सर्पमा बिख र मान्छेमा इख भयो भनेमात्र सर्पले डस्न र मानिसले प्रगति गर्न सक्छ । यही उखानलाई चरितार्थ गर्दै नया“ व्यवसायमा हात हालेका बुटवलका तीन दाजुभाई आज परिचित व्यवसायी बनेका छन् । यस क्षेत्रमा पहिलोपटक डाइपर उद्योग थालेका तिलक, डोलराज र गंगाधर अधिकारीले नेपालको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान समेत गरेका छन् । नवलपरासीमा एसएलसी सकेर उच्च शिक्षाका लागि काठमाण्डौ गएका उनीहरुले बुवा रुक्मांगतको प्रेरणाबाट व्यवसायमा हात हालेका हुन् । खाद्यान्नको पसल गर्दै उनीहरु सुदुरपश्चिमको कैलाली पुगे र त्यहां व्यवसाय थाले । खाद्यान्न्कै व्यापारपछि उनीहरुले कैलाली ब्राण्ड भनेर चिउरा उत्पादन सुरु गरे । त्यसपछि तेल मिल संचालन गरे । ब्राण्डमार्फत तेल, सोयाविन र चामलको विक्रि गरिरहेका थिए । उनीहरुको सोंच देशमै स्वास्थ्य क्षेत्रमा केही गर्ने बन्यो । त्यसका लागि विभिन्न देशमा गई अध्ययन गरे र तिलोत्तमा १६ मा उनीहरुले बच्चाको डाइपर र महिलाका लागि सेनेटरी प्याड उत्पादन गर्ने एजी हेल्थ इन्डस्ट्रिज संचालनमा ल्याए । २०७२ बाट सुरु भएको उद्योगले संरचना बनाउंदा एक वर्ष समय लियो र २०७४ बाट उत्पादन बजारमा आउन थाल्यो । सगुन बेबी डायपर नेपालकै पहिलो उत्पादन हो , संचालक डोलराज अधिकारीले भने । उनका अनुसार उद्योगमा डायपर र प्याड उत्पादनका लागि कपास, ननओभन फेब्रिक, प्लाष्टिक, पिफिलिङ, गम, स्याप जस्ता कच्चापदार्थ आवश्यक पर्दछ । यस्ता पदार्थ भारत, चीन, अमेरिका, क्यानडा जस्ता देशहरुबाट आयात गरिन्छ ।

कम्पनीले प्रतिमिनेट ४५० पिस डायपर र सेनीटरी प्याड उत्पादन गर्दछ । यसका लागि ५ जना प्राविधिक रहेका छन् । जो नेपाली नै हुन् । उनीहरु विभिन्न देशमा गएर यस्तै किसिमका उद्योगमा काम गरेर आएका हुन् । एजीका उत्पादनको बजार देशैभर रहेको छ । ११२ डिलर मार्फत उत्पादन उपभोक्तासम्म पुग्दछन् । दुई बिघा क्षेत्रफलमा फैलिएको उद्योगमा ठुला ठुला मेसिनबाट धेरै पाइला पार गर्दै वस्तु बनेर निस्कंदा एक किसिमको अचम्म पनि लाग्छ । तर गरे के हुंदैन र ? ५० करोड रुपैयांको लगानीमा संचालीत एजी हेल्थ इन्डस्ट्रिजमा १ सय भन्दा बढीले रोजगारी पाएका छन् । यसले देशको आय देशमै रहन सघाएको छ । सुुरुका दिनमा दैनिक ६ घण्टा उत्पादन गरेको अर्का संचालक गंगाधर अधिकारीले बताए । हाल दैनिक आठ घण्टा मेशिन सञ्चालन हुुन्छ । उत्पादित सामाग्रीको खपत राम्रो छ । नेपालमा डायपर र सेनिटरी प्याड प्रयोग गर्नेको संख्या वर्षेनी २० प्रतिशतको दरले वृद्धि भएको छ , उनले भने । भारत, बंगलादेश, भूटान निर्यात गर्न सकिने गरी उत्पादन गर्न सक्छौं । तर, भारतीय नीतिअनुसार आफूहरुले भारतको ६० प्रतिशत कच्चा पदार्थ प्रयोग नगरेको हुनाले भारत निर्यात गर्न नसकेको उनले जनाए । धेरै नै प्रतिष्पर्धा छ । उत्पादन गुणस्तरीय भएको हुनाले बजार विस्तार हुुंदै गएकोे उनको भनाइ छ । स्वास्थ्यसंग सरोकार राख्ने र संवेदनशिल भएको हुनाले हामीले उत्पादन र गुणस्तरलाई विशेष ध्यान दिएको उनले बताए । आफ्नै ल्याबमा परिक्षण गरेर मात्र उत्पादन बजारमा पठाउने गरेको बताउंदै उनले हाइजेनिकलाई विशेष प्राथमिकता दिएको सुनाए । हालसम्म बजार र उपभोक्ताबाट सकारात्मक प्रतिक्रिया पाएको उनको भनाइ छ । विभिन्न उमेर समूहका बालबालिका र महिलाहरुलाई लक्षित गरी फरक आकारमा सामग्री उत्पादन गरेको उद्योगले प्रति प्याकेट ४५ रुपैयांदेखि ११ सय सममको उत्पादन बजारमा विक्रि गरिरहेको छ । छौं । जसअनुसार शिशुदेखि बालकसम्मलाई डाइपर र किसोरीदेखि रजस्वला हुने उमेर समूहका महिलासम्मलाई लक्षित गरी प्याड उत्पादन हुन्छ । नेपालमा जस्तोसुकै उद्योग संचालन गर्न समस्या भएकाले चुनौतीपुर्ण रहेको इन्डस्ट्रिजका अध्यक्ष तिलक प्रसाद अधिकारीले बताए । नेतृत्वको बोलीअनुसार व्यवहार र औद्योगिक निती नहुंदा काम गर्न चाहेपनि समस्याले घेरा हालेको छ, उनले गुनासो गरे ।

उद्योग सुुरुगर्दा लोडसेडिङ समस्या, बैंकिङ समस्या, मेशिनरी सामान आयात गर्ने लगाएतका समस्या थिए । तर हाल विद्युत करिब निरन्तर भएपनि भोल्टेज घट–बढ हुने समस्या, मेशिनका पार्ट बिग्रेमा विदेशबाट मगाउंदा झण्झटिलो प्रक्रिया साथै वारेण्टीका पार्टस् एवम् ५ सय डलर भन्दा माथिका सामान ल्याउंदा एलसी खोल्नु पर्ने बाध्यता, तयारी सामाग्री आयातमा खुकुलो नीति, नेपाललाई विदेशी उत्पादनको प्रयोगशाला बनाउने जस्ता समस्या रहेको उनले बताए ।
उनीहरुले पहिला सरकारले औधोगिक नेतृत्वको मात्र नभई सबै उद्योगीहरुसंग छलफल गरी उद्योगमैत्री नीति र वातावरण बनाउन आवश्यक रहेको बताए । उद्योग स्थापनाको क्रममा बैंकले शुलभ दरमा ऋण प्रदान गर्नुका साथै उद्योग स्थापना क्रमको व्याजमा सहुलियत प्रदान गर्न आवश्यक छ । उद्योगले उत्पादन सुुरु नगर्दै व्याजले ढाड सेकिने अहिलेको अवस्था छ । त्यसैगरी कच्चा पदार्थ आयातमा न्यून भन्सार र रेडिमेड सामान आयातमा बढी भन्सार दर लगाउन आवश्यक छ, उनीहरुले भने ।
अब यस उद्योगको उत्पादन बढाउने, बजार विस्तार गर्ने योजनाका साथै सिरिञ्ज (सुई) उत्पादन गर्ने योजना बनाएको संचालकले बताए । मिहिनेतका साथ अघि बढिरहेका उनीहरुलाई फुर्सद नै छैन । काममा ध्यान नदिए उत्पादनमा केही गडबड भइहाल्छ कि भन्ने ेहेतुले कामदारसंगै खटिने गर्छन् तीनैजना । आमाको निर्णयलाई नकाट्ने उनीहरु हरेक काममा आमाको सल्लाह लिई सुरुआत गर्छन् । उद्योगमा लगानी गरिसकेपछि यसको उत्पादन बजारमा विक्रि हुने र बजार राम्रो बन्ने आशा सबै व्यापारीलाई हुन्छ नै । उनीहरु यसमा चिन्तित त रहे नै तर गुणस्तरको कुरामा चुक्न हुंदैन भन्ने मानसिकता बनाएर सोही अनुसार काम गरिरहेका छन् ।
नेपाली भुमिमै कच्चा पदार्थ नहुंदा विदेशी आयातले पार्ने प्रभावप्रति गम्भिर बन्दै डोलराजले भने, एउटा सामान क्यानडा, अर्को अमेरिका र अन्य ठाउंबाट ल्याउनु सजिलो छैन । उनले भोलिको ४ महिनाका लागि आजैबाट आंकलन गरेर सामाग्री मगाउने गरेको सुनाए । उक्त सामाग्री आउनै १७ दिन देखि एक महिना पनि लाग्छ । तर पनि संयमता र प्रयासले उनीहरुको उत्पादनले बजार पाइरहेको छ । मिहिनेतको कुरामा तीनै दाजुभाईको एकै स्वर रहन्छ, उनीहरु भन्छन्, मिहिनेत गर्न पछि पर्न हुंदैन , सफलता प्राप्त गर्न समय लाग्ला तर पाइन्छ । सोही सोंचले काम गर्दै अघि बढिरहेका छन् उनीहरु । स्थानीय महिलालाई प्राथमिकता दिएर रोजगार दिएका छन् जसले गर्दा महिला स्वरोजगारमा समेत टेवा पुगेको छ ।