दुध खानुभन्दा बियर फाइदाजनक

प्रकाशित मिति:

एजेन्सी  – मदिरा पिउनु स्वास्थ्यको लागि हानिकारक छ । मदिरा सेवनले विभिन्न प्रकारका स्वास्थ्य समस्या पैदा गर्ने र मानिसको अकालमा ज्यान लिने गर्छ। त्यसैले बच्चा बेलादेखि नै दूध पिउने बानी बसालिन्छ । मदिरा सेवन गर्नुहुँदैन भनेर सिकाइन्छ र पिएमा नराम्रो मानिन्छ । शारीरिक र मानसिक स्वास्थ्यको विकासका लागि दूध फाइदाजनक हुन्छ । त्यसैले मानिसहरु हरेक दिन दुई वा तीन गिलास दूध पिउने गर्छन् । तर, पिपुल फर एथिकल ट्रिटमेन्ट अफ एनिमल (पेटा) ले दूध पिउनुभन्दा बियर पिउँदा फाइदा हुने बताएको छ । पेटाका अनुसार बियर पिउँदा हड्डी मात्र होइन आयु पनि बढ्छ ।

त्यति मात्र होइन, पेटाले दूधका विभिन्न बेफाइदाका बारेमा समेत उल्लेख गर्दै मोटोपन, मधुमेह र क्यान्सर जस्ता रोगका कारण पनि दूध नै भएको दाबी गरेको छ । पेटाले यस्तो दाबी हार्वर्ड स्कुल अफ पब्लिक हेल्थको एउटा रिपोर्टको आधारमा गरेको हो । बियरलाई अल्कोहल बेभरेज मानिन्छ । यसमा प्रयोग हुने पोषक तत्वहरु गहुँ, मकै र धानले स्वास्थ्यलाई फाइदा पुर्याउने पेटाले उल्लेख गरेको छ । त्यसैगरी, बियरमा हुने ९० प्रतिशत पानी बाहेक फाइबर, क्याल्सियम र आइरनसमेतले शरीरलाई फाइदा पुर्याउँछ । बियरले शरीरका हड्डी बलियो बनाउँने काम गर्छ । मांसपेशी विकासको लागि पनि बियर फाइदाजनक मानिन्छ । त्यसैले, पेटाले बियर दूधभन्दा फाइदाजनक हुने बताएको छ । यद्यपि, बियरमा पनि मदिराको मात्रा हुने हुँदा धेरै सेवन गर्दा स्वास्थ्यमा गम्भीर असर पर्छ ।