महाधिवेशनको मिति तोक्न कांग्रेस जिल्ला सभापतिका दबाब

प्रकाशित मिति:

काठमाडौं – नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले केन्द्रीय समितिको जारी बैठकबाटै १४औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्न केन्द्रीय नेतृत्वलाई दबाब दिएका छन्। आइतबार काठमाडौंमा १७ जिल्लाका सभापतिको भेलाले भागवण्डाको राजनीति अन्त्य गरी १४औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्न माग गरेको हो। भेलाको निर्णयबारे नेपाल समाचारपत्रलाई जानकारी दिँदै काभ्रे जिल्ला सभापति मधुप्रसाद आचार्यले भन्नुभयो– ‘भेलाले समय घर्केपछि गठन गरिने विभागलाई पनि नमान्ने निर्णय गरेको छ।’

उहाँका अनुसार विधानले महाधिवेशन भएको ६ महिनाभित्र गठन गरिसक्नुपर्ने किटान गरेकाले समय घर्केपछि विभाग गठन गर्नु सही छैन।पार्टीमा भागवण्डा र गुटबन्दी बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै जिल्ला सभापतिहरूले भाग माग्ने र दिने दुवै प्रवृत्ति गलत भएको निष्कर्ष निकालेका छन्। योग्यता, क्षमता, विज्ञता र निरन्तरताको आधारमा विवेकसम्मत आधारले सबैलाई समेटेर लैजानुपर्ने भन्दै जिल्ला सभापतिहरूले भागवण्डाको परम्परा र संस्कृतिलाई अन्त्य गर्न माग गरेका छन्।

भेलाले पार्टीमा पूर्ण एकता कायम गरी सरकार पक्षधरविरुद्ध जनमत सिर्जना गर्नुपर्नेमा पार्टी नेतृत्व चुक्दै गएको आरोप लगाएका छन्।
पार्टी नेतृत्वले विधान र नियमावलीलाई पालना नगरेको भन्दै उनीहरूले भ्रातृ संस्थाहरूको विषयमा पार्टीभित्रैबाट निर्वाचन समिति गठन गरी अधिवेशन गराउनुपर्नेमा जोड दिएका छन्। भेलामा काभ्रे, काठमाडौं, रोल्पा, मुगु, सोलुखुम्बु, खोटाङ, उदयपुर, नुवाकोट, बाँके, जाजरकोटसहित १७ जिल्लाका सभापति उपस्थित थिए।