मदन भण्डारी राजमार्ग निर्माण प्रभावित : जग हालेको नौ बर्ष बित्यो तर पुल बनेन

प्रकाशित मिति:

हेटौँडा – मकवानपुर र सिन्धुली जिल्ला जोड्ने पक्की पुल नौ बर्षअघि निर्माण सुरु भएपनि हालसम्म निर्माण सम्पन्न नहुँदा राष्ट्रिय गौरवको मदन भण्डारी राजमार्ग निर्माण प्रभावित भएको छ । मदन भण्डारी राजमार्गमा निर्माण हुने ३४ वटा पुलमध्ये बामगती पुल सबैभन्दा ठूलो र बढी लागतको बलियो संरचना हो । २०६८ साल असार २९ गते स्वच्छन्द निर्माण सेवा प्रालिले सम्झौता गरी निर्माणको जिम्मा लिएको पुल २०७३ साल असार २८ गते सम्पन्न हुनुपर्ने थियो । तर, पुलका खम्बाहरु ठडिएको लामो समय बितिसक्दा पनि निर्माणले गति लिन सकेको छैन । निर्माण कम्पनीलालाई पुल चाँडो सम्पन्न गर्न पटक पटक ताकेता गरिएको भएपनि काम चित्तबुझ्दो ढंगले अघि नबढेको मदन भण्डारी राजमार्ग आयोजना हेटौँडाका प्रमुख राजेश पौडेलले बताउनुभयो । पुलको भौतिक प्रगति ६० प्रतिशत मात्र भएको आयोजना कार्यालय हेटौँडाले जनाएको छ । निर्माणाधीन पुलको लम्बाई ४०३ मिटर छ ।

तत्कालीन सरकारले सुरु गरेको धरान–चतरा–सिन्धुली–हेटौंडा सडक आयोजनालाई झापादेखि डढेल्धुरासम्म १ हजार २ सय ५० किलोमिटर विस्तार गरेर सरकारले मदन भण्डारी राजमार्ग सडक आयोजना नामाकरण गरी कार्यान्वयन गरिरहेको छ । पुल निर्माणका लागि सरकारले दुईपटक म्याद थप गरी मौका दिइसकेको छ । सार्वजनिक खरिद ऐनको आठौँ संशोधन कार्यान्वयन गर्दा निर्माण कम्पनीका लागि आगामी जेठ २२ गतेभित्र पुल निर्माण सम्पन्न गर्नुपर्ने बाध्यता छ । समयसीमाभित्र काम सम्पन्न गर्ने लिखित प्रतिबद्धता र कार्ययोजनासहित निर्माण कम्पनीले आयोजना कार्यालयमा लिखित प्रतिबद्धता गरेको आयोजनाले जनाएको छ ।

यद्यपि, प्रतिबद्धता अनुसार पर्याप्त जनशक्ति र उपकरणहरु प्रयोग नभएकाले समयसीमाभित्र काम सम्पन्न हुनेमा आयोजना कार्यालय सशंकित बनेको कार्यालय प्रमुख पौडेलले बताउनुभयो । ‘प्रतिबद्धता अनुसार निर्माण कम्पनीले पुल निर्माण कार्य सम्पन्न नगरेमा आयोजनाले ठेक्का रद्द गरी कारवाही गर्नेछ’, प्रमुख पौडेलले भन्नुभयो–‘निर्माण कम्पनीसँग ठेक्का रद्द गरी पुनः टेन्डर गर्दा राज्यले थप भार व्यहोर्नुपर्ने हुन्छ ।’ कार्यप्रगति कमजोर हुँदा आयोजनाले निर्माण कम्पनीसँग अग्रिम पेश्कीबापतको २ करोड ६१ लाख रुपियाँ निर्माण कम्पनीसँग आयोजना फिर्ता लिएको छ । ९ बर्षअघि ४२ करोड आठलाख रुपैया“को लगात अनुमान गरिएको पुल निर्माण कम्पनीले करिब ४३ प्रतिशत कम मूल्यांकनमा २३ करोड ३७ लाख रुपैया“मा स्वच्छन्द भैरव निर्माण सेवा प्रालिले ठेक्का सकारेको हो । मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुली र मकवानपुर जिल्लामा ११५ किलोटिर सडक खण्डमा बागमती पुलसहित ३४ वटा पुल रहेका छन् । सबै पुलको लम्बाई २ हजार १ सय १५ मिटर रहेको छ भने २१ वटा पुल निर्माण सम्पन्न भइरहेको आयोजनाले जानकारी दिएको छ । शिवकुमार काशीले गोरखापत्रमा लेखेका छन ।