दोश्रो गैडहवा शैक्षिक महोत्सव सुरु : प्रदेश सरकारले गणित र बिज्ञान बिषयलाई अधिकतम जोड दिएको छ मन्त्री बराल

प्रकाशित मिति:

राधेश्याम विश्वकर्मा/रुपन्देही – गैडहवा गाउँपालिकाको आयोजनामा दोश्रो गैडहवा शैक्षिक महोत्सव तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । आईतबार देखी सूर्यपुरा बहुमुखी क्याम्पसको प्रस्तावित खेल मैदानमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश नम्बर ५ का सामाजिक बिकास मन्त्री सुदर्सन बराल स्थानिय तहहरुले गर्ने शैक्षिक तथा रचनात्मक कामलाई प्रदेश सरकारको साथ सधै रहने बताए । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री बरालले बिद्यार्थीलाई सिक्न जटिल बनेको बिज्ञान र गणित बिषयलाई अगाडी बढाउन प्रदेश सरकारले अधिकतम जोड गरेको बताए । यो दुवै बिषयको अतिरिक्त कक्षा सञ्चालनको लागी सामाजिक विकास मन्त्रालयलाई संघिय सरकारको ५ करोड रुपैयाको बिशेष अनुदान रहेका उनले जानकारी दिए । अब प्रदेशमा रहेका ९ सय ८८ वटा माध्यमिक बिद्यालयमा अध्यापनरत शिक्षकलाई बिशेष तालीम प्रदान गर्ने बताए ।

बरालले बिद्यार्थीहरुको वास्तविक प्रतिभा खेलकुद र प्राविधिक शिक्षाले मात्र उजागार गर्ने बताए । यसका लागी एक स्थानिय तहमा एउटा प्राविधिक शिक्षालयको अवधारणा ल्याएको र अब बिद्यार्थीले घर घरबाटै प्राविधिक शिक्षा पाउनु पर्ने बताए । गैडहवा गाउपालिकाका अध्यक्ष बच्चुलाल केवटको अध्यक्षतामो शैक्षिक महोत्सव तथा राष्ट्रति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

६ गते देखी सुरु भई १२ गते सम्म सञ्चालन हुने प्रतियोगितामा एथलेटिक्स, भलिबल, दौड, कबड्डी लगायतका शारिरीक खेल हुनेछ भने साहित्य तर्फ पनि वक्तृत्वकला, निवन्ध लेखन, हिज्जे, हाजिरीजवाफ, चित्रकला, पठनशिप लगायतको प्रतियोगिता गराईने गाउँपालिका अध्यक्ष बच्चुलाल केवटले जानकारी दिए । गाउँपालिकामा रहेका २२ वटा सामुदायिक, १२ वटा संस्थागत र ८ वटा धार्मिक बिद्यालयका गरि ३२ बिद्यालयका करिब ४ हजार बढी बिद्यार्थीको सहभागीता रहने खेलकुद समिति सचिव रामजी आचार्यले बताए । उनले प्रतियोगिता अन्र्तगत १ सय १७ वटा खेलकुदका क्रियाकलापहरु सञ्चालन गरिने बताए । प्रतियोगितामा छनौट भएका बिद्यार्थीहरु जिल्ला स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा भाग लिन पाउने आचार्यले जानकारी दिए ।