प्रदेशमै पहिलो मृगौलाको पत्थरी निकाल्ने लेजर पद्धती तिनाउ इन्टरनेशनल हस्पिटलमा

प्रकाशित मिति:

बुटवल/मृगौलामा पत्थरी पर्यो भने निकाल्नकालागि अप्रेशन गर्नुपर्ने झण्झटले बिरामी त्यसै बस्ने गरेको तमाम उदाहरण छन् । लेजर पद्धतीबाट पत्थरी निकाल्ने प्रविधी भएपनि नजिकमा नहुँदा कतिपय शरीरमा ढुंगा बोकेर हिड्नुपर्ने बाध्यता जस्तै छ । त्यो समस्या निराकरणकालागि हालै बुटवलमा सञ्चालनमा आएको तिनाउ ईन्टरनेशनल हस्पिटलले यस क्षेत्रमै पहिलो पटक मृगौलाको पत्थरी निकाल्नका लागि लेजर प्रविधी भित्र्याएको छ ।

पाँच नं. प्रदेशमै पहिलो पटक लेजर प्रविधी भित्र्याएको तिनाउ हस्पिटलले ( आर.आइ.आर.एस) प्रविधी ल्याएसंगै सफल उपचार समेत सुरु गरेको छ । लेजर पद्धतीबाट मिर्गौलाको पत्थरी निकाल्न सफल भएको अस्पतालले जनाएको छ । आर.आइ.आर.एस. बिना अप्रेसन लेजरको माध्यमबाट मिर्गौलाको सर्जरी गरी पत्थरी निकाल्ने विधि हो । सिनियर चिफ कन्सल्टेन्ट हाड जोर्नी ट्रमा, नसा तथा स्पाईन सर्जन राजेन्द्र सन्जेलका अनुसार यो प्रकारको उपचार सुविधा यस क्षेत्रमा थिएन, हामी गर्न सफल उपचार गरेका छौं ।अस्पतालका अध्यक्ष चिरञ्जिवी जोशीका अनुसार प्रविधी ल्याएसंगै जनरल सर्जन डा. सन्जय कुमारको टिमले लेजर प्रबिधीद्वारा पत्थरी निकालेको हो । अस्पतालको प्रवन्ध निर्देशक बिमल श्रेष्ठले बिरामीको चुस्त सेवाकालागि अस्पताल प्रतिवद्ध रहेको बताउनु भयो ।