पत्रकार शर्मा र कंडेललाई शिक्षा पत्रकारिता पुरस्कार

प्रकाशित मिति:

बुटवल/कालिका मानवज्ञान माध्यमिक विद्यालयले हरेक वर्ष प्रदान गर्दै आएको उत्कृष्ट शिक्षा पत्रकारिता पुस्कारबाट पत्रकारद्वय टोपराज शर्मा र एन.बि कंडेल पुरस्कृत भएका छन् । विद्यालयमा स्थापना गरिएको स्व. अरुण पौडेल अक्षयकोषबाट उनीहरुलाई नगद र सम्मानपत्रले पुरस्कृत गरिएको हो । विद्यालयको ५९ औ वार्षिक उत्सवको अवसरमा आयोजित मूल समारोहमा शर्मा र कंडेललाई प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र अक्षयकोषका संरक्षक गिता पौडेलले संयुक्त रुपमा पुरस्कार प्रदान गरेका हुन् । शर्मा अनलाइनखबर डटकमका बुटवलका वरिष्ठ संवाददाता हुन् भने कंडेल बुद्धभूमि साप्ताहिकका सम्पादक हुन् । सो अवसरमा बोल्दै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले नेपालको अहिलेको शिक्षा प्रणाली सर्टिफिकेट प्राप्त गर्नेमा बढी केन्द्रित भएको बताएका छन् । अहिलेको प्रणाली अनुसार शिक्षक, विद्यार्थी, अभिभावक र सिङ्गो समाज नै प्रमाणपत्र प्राप्तितर्फ केन्द्रित हुने गरेको उनले बताए । शिक्षा प्रणाली परिमार्जन गर्नु पर्ने आवश्यकता औल्याउँदै उनले भने–‘विद्यार्थीले कति प्राप्त गर्योभन्दा पनि कस्तो प्रकारको ज्ञान हासिल गर्यो भन्ने महत्वपूर्ण हो ।’ विद्यार्थीलाई विज्ञान र प्रविधितर्फ आर्कषित गराउन सके मूलुकले भविष्यमा सफल र सक्षम जनशक्ति प्राप्त गरी समृद्ध मूलूक निर्माणमा सहयोग पुग्ने बताए ।

कार्यक्रममा बोल्दै प्रदेश ५ का प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले नमूना प्रदेश स्थापनाका लागि शैक्षिक क्षेत्रबाट कालिका मानवज्ञानको महत्वपूर्ण भूमिका रहन सक्ने विश्वास व्यक्त गरे । यस्तै कार्यक्रममा बोल्दै प्रदेश ५ का योजना आयोगका उपाध्यक्ष डा. इश्वर गौतमले शैक्षिक प्रगतिबिना समृद्ध मूलूकको कल्पना गर्न नसकिने बताए । कालिका मानवज्ञानले जिल्लामा मात्रै नभएर प्रदेश ५ भरी नै शैक्षिक प्रगतिको अब्बल नमूना प्रस्तुत व्यक्त गरेकोमा प्रशंसा गरे । यसै बीच विद्यालयले हरेक वर्ष प्रदान गर्दै आएको वर्ष शिक्षक पुस्कारबाट विद्यालयका शिक्षक सन्तोष तिवारी सम्मानित भएका छन् । विद्यालयमा उत्कृट ईन्चाजको रुपमा सुर्दशन रेग्मी समानित भएका छन् । विद्यालयले विभिन्न विषयमा उत्कृष्टता हासिल गर्ने १ सय ५ जना शिक्षक तथा कर्मचारीलाई सम्मान गरेको छ । समानित शिक्षक तथा कर्मचारीहरुलाई जनही नगद रु ५ हजारसहित दोसला र प्रमाणपत्रले सम्मान गरिएको विद्यालयका प्रचार्य घनश्याम पाठकले बताए ।कालिका मानवज्ञान माध्यमिक विद्यालयमा ५९ औँ वार्षिक उत्सवको अवसरमा आयोजित कालिका रनिङ शिल्डको उपाधि आयोजकले प्राप्त गरेको छ । आयोजक विद्यालय कालिका मानवज्ञानले रनिङ शिल्ड सहित नगद रु ५० हजार र प्रमाणपत्र प्राप्त गरेको हो । १४ स्वर्णसहित कूल ४२ पदकका लागि भएको प्रतिस्पर्धामा विद्यालयले ८ स्वर्ण, ३ रजत र ५ कास्य गरी कूल १६ पदक प्राप्त गरेको थियो । यसैगरी बुटवलको एभरेष्ट बोर्डिङ स्कूलले द्रोसो स्थान हासिल गर्दै ३ स्वर्ण १ रजत र १ कास्यसहित ५ पदक प्राप्त गरेको थियो । विद्यालयले नगद रु ३० हजार, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियोगितामा न्यू होराइजन माध्यमिक विद्यालय र मणिमुन्दले तेस्रो स्थान हासिल गरेका छन् । उनीहरुले नगद रु २० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका हुन् । तेस्रो भएको होराइजनले १ स्वर्ण, ४ रजत र १ कास्य गरी ६ पदक हासिल गरेको थियो भने मणिमुन्दले १ स्वर्ण र १ रजत प्राप्त गरेको थियो ।