पूर्वस्वास्थ्य मन्त्री थापा मार्फत् गुल्मीको हेल्थपोष्टलाई एम्बुलेन्स हस्तान्तरण

प्रकाशित मिति:

काठमाडौँ । पूर्वस्वास्थ्य मन्त्री तथा सांसद गगन थापाले गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ७ लाई एम्बुलेन्स हस्तान्तरण गर्नुभएको छ । ‘पण्डित वेणी माधव पौडेल प्रतिष्ठान’ले उपलब्ध गराएको एम्बुलेन्सलाई कांग्रेसका प्रभावशाली नेता थापाले काठमाडौंमा सोमबार आयोजित विशेष कार्यक्रममा एम्बुलेन्स हस्तान्तरण गर्नु भएको हो । कालिगण्डकी गाँउपालिका ७ भुर्तङ्ग हेल्थ पोष्टले सञ्चालन गर्ने गरी नेता थापाले वडा नम्बर ७ का वडाध्यक्ष लोकप्रताप शाहलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गर्नु भएको थियो । नेपाली कांग्रेसका नेता स्व.गिरिजाप्रसाद कोइरालाको निजी सहयोगीका रुपमा लामो समय काम गरेका काँग्रेस नेता गोकर्ण पौडेलले आफ्नो बुवाको स्मृतिमा गाउँपालिकाको वडा नम्बर ७ लाई प्रतिष्ठानमार्फत एम्बुलेन्स उपलब्ध गराइएको जानकारी दिनुभयो । कार्यक्रममा युवा नेता थापाले एम्बुलेन्सलाई सकेसम्म न्युनतम शुल्क लिएर सेवा दिन सुझाव दिनुभएको थियो । ‘एम्बुलेन्स चलाउन शुल्क उठाउनुपर्छ, शुल्क उठाउँदा सेवाग्राहीलाई भार पार्नु हुँदैन’, उहाँले भन्नुभयो, ‘एम्बुलेन्सको मर्मत सम्भार, चालकको तलबलगायतका विषयमा पनि एम्बुलेन्सको शुल्कले व्यवस्था मिलाउनुपर्छ ।’