मास थर्मल प्रिण्टर मार्फत स्मार्ट लाइसेन्स छपाई

प्रकाशित मिति:

सबैका हातमा पुग्न कम्तिमा आठ महिना
सबलपोष्ट काठमाडौं

विना तयारी अर्बौं खर्च  गर्ने सरकारले नौ करोड पर्ने मेसिन एकै पटक खरिद गर्न नसक्दा लाइसेन्सको कुराई अझै आठ महिना लम्बिने अवस्था आएको हो

सरकारले मास थर्मल प्रिण्टर मार्फत स्मार्ट लाइसेन्स छपाउने कार्य अगाडि बढाएको छ । यातयात विभागले प्रति घण्टा चार सय ५० कार्ड छाप्न मिल्ने मास प्रिण्टर मार्फत स्मार्ट लाइसेन्स छाप्ने काम अगाडि बढाएको विभागका प्रवक्ता तीर्थराज खनालले जानकारी दिए । स्मार्ट लाइसेन्स छपाउने काम धेरै अगाडिबाट छपाउन शुरु गरिए पनि कम गुणस्तरको छपाईका कारण बिचमै रोकिएको थियो ।

‘पहिला यातयात व्यवस्था कार्यालय एकान्तकुनामा नौ वटा मेसिन राखेर छपाइ गरिएको थियो तर त्यसले राम्ररी काम गर्न सकेन’, उनले भने‘ति पनि ६ ओटा जति बिग्रिएको अवस्थामा छन् बाँकी तीन ओटा पनि प्रयोगमा ल्याइएन ।’ ति मेसिनले प्रति मिनेट एक प्रति कार्ड छाप्थे । उनका अनुसार आठ लाख लाइसेन्स वितरण गर्न बाँकी छ, मेसिनले पुर्ण क्षमतामै काम गरे पनि अझै आठ महिना लाग्छ । उनले भने ‘तर आवश्यक प्राविधिक जनशक्ति प्रयाप्त नभएको कारण पुर्ण क्षमतामा चल्न सकेको छैन, यो न्युनतम समय सिमा हो बढि लाग्न पनि सक्छ ।’ यस अघि विभागबाट तालिम लिन भन्दै केही अधिकारी विदेश पनि पुगेका थिए । विभागका एक कर्मचारीले सबलपोष्टसँग भने ‘तालिम हाकिमहरुले लिए, अहिले तल्ला तहका कर्मचारीले काम गर्नुपरेको छ, कसरी काम हुन्छ ?’

विभागले अर्को मेसिन खरिदको तयारी गरेको छ । विना तयारी अर्बौं खर्च गरेर सरकारले नौ करोड पर्ने मेसिन एकै पटक खरिद गर्न नसक्दा लाइसेन्सको कुराई अझै आठ महिना लम्बिने अवस्था आएको हो । प्रवक्ता खनालले अर्को प्रिण्टरको खरिद प्रकृया पुरा गर्न पनि करिब आठ महिना लाग्ने हुनाले पनि एउटा मेसिनबाट मात्र काम गर्नै पर्ने बाध्यता रहेको बताए । उनले भने ‘अहिले दिनको २० घण्टा मेसिन चलाउने तयारीमा छौं, मेसिन हो प्राविधिक समस्या आए, सरासर काम नहुन पनि सक्छ ।’

विभागका एक अधिकारी सरकारबाट छपाईको जिम्मा पाएको संस्था माथि नै शंका गर्छन् । ‘कामको जिम्मा पाएको संस्थाको कार्य क्षमता नै कमजोर छ ,जसले पटक पटक ठगेको छ , उसैलाई कामको जिम्मा दिइयो,’ उनले भने ‘उसको काम गराईको कारण अहिले देखी नै समस्या देखिन शुरु भएको छ ।’ छपाइको जिम्मा मद्रास सेक्युरिटी प्रिण्टर्सले पाएको छ ।
यो मेसिनबाट छपाइएको लाइसेन्स हरेक दृष्टिले उत्कृष्ट हुने विभागको दावी छ ।