डोजरले महिला हुत्याउने चालक धरौटीमा रिहा

प्रकाशित मिति:

बैतडी – केही समय अघि डोजरले महिला हुत्याएको खबर आएको थियो । डोजरले महिला हुत्याउने चालक किशोर बोहरा पक्राउ परेका थिए । अहिले उनी थुनामुक्त भएका छन् । बैतडीको दशरथचन्द नगरपालिका वडा नं ९ ग्वाल्लेकमा गत कार्तिक ४ गते सडक निर्माणका क्रममा डोजरले महिला हुत्याएको भिडियो सार्वजनिक भएको थियो । ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेपछि बोहरालाई पुर्पक्षका लागि जिल्ला अदालतले मंसीर १ गते कारागार चलान गरेको थियो ।

जिल्लाको अदालतको आदेशलाई उल्ट्याउँदै उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासले बोहरालाई थुनामुक्त गरी धरौटीमा रिहा गरी अनुसन्धान गर्न आदेश दिएको छ । उच्च अदालतको पौष ३ गतेको आदेश अनुसार बोहरालाई ५० हजार धरौटीमा रिहा गरिएको जिल्ला कारागार बैतडीका जेलर अनिल तिवारीले जानकारी दिनुभयो । बोहरामाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको र सो मुद्दाको टुंगो नलागेकाले उच्च अदालतको आदेश अनुसार धरौटीमा रिहा गरिएको उहाँले बताउनुभयो ।

यसअघि डोजर चलाउन उक्साउने आरोपमा पक्राउ परेका स्थानीय भोजराज जोशी र धर्मानन्द जोशी तथा डोजर मालिका भानीदत्त जोशी पनि जनही ५० हजार धरौटी बुझाएर रिहा भएका थिए । सडक खन्ने क्रममा डोजरले स्थानीय गौरी जोशीलाई हुत्याएपछि सो घटनाको सर्वत्र आलोचना गरिएको थियो । डोजरकाण्ड पछि अहिले सो क्षेत्रमा सडक निर्माण कार्य भने पूर्ण रुपमा रोकिएको छ । सडक निर्माण गर्ने र सडक निर्माण गर्न नदिने दुवै पक्षबीच विवाद हुँदा झडपको स्थिती आएको थियो ।

थप समाचार