असफल भए मोदी : ‘विशेष चस्मा लगाउँदा पनि देख्न पाएनन् सूर्य ग्रहण’

प्रकाशित मिति:

नयाँ दिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बादलका कारण सूर्य ग्रहण हेर्न नपाएको उल्लेख गरेका छन् । विशेष चस्मा प्रयोग गरी सूर्य ग्रहण हेर्ने प्रयास गरेपनि बादलको कारण आफ्नो प्रयास सफल हुन नसकेको मोदीको भनाइ छ । बिहीबार लागेको सूर्य ग्रहण अवलोकनका लागि नयाँ दिल्लीस्थित आफ्नो सरकारी आवासको बगैंचामा पुगेका मोदी बादलका कारण ग्रहण हेर्न पाएनन् ।

उनले प्रत्यक्ष रुपमा सूर्य ग्रहण नहेरेपनि केरेलाको कोझिकोडे लगायत देशका विभिन्न भागबाट देखिएको ग्रहण झलक प्रत्यक्ष प्रसारणबाट अवलोकन गर्न पाएको उल्लेख गरेका छन् ।

प्रत्यक्ष रुपमा सूर्य ग्रहण अवलोकन गर्न नपाएपछि मोदीले माइक्रो ब्लगिङ साइट ट्वीटरमा लेखेका छन्– धेरै भारतीयजस्तै म पनि सूर्य ग्रहणलाई लिएर उत्साहित थिएँ । दुर्भाग्यवश बादलका कारण सूर्यलाई देख्न पाइनँ, तर कोझिकोडे तथा अन्य भागबाट देखिएको ग्रहणको झलक प्रत्यक्ष प्रसारमा हेरेँ । विशेषज्ञहरुसँग कुराकानी गरेर ग्रहणबारेको आफ्नो ज्ञानलाई अझै समृद्ध पारेँ ।