सुनको आयातमा ६३ प्रतिशतले कमी

प्रकाशित मिति:

काठमाडौं– चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा सुनको आयात घटेको छ । सुनको आयात साउनदेखि मंसिरसम्मको पहिलो पाँच महिनामा ६२.६८ प्रतिशतले घटेको हो । चालू आर्थिक बर्षको पाँच महिनामा वाणिज्य बैंकहरुले १२ सय ५० किलो सनु आयात गरेका छन् भने गत बर्ष सोहि अवधिमा वाणिज्य बैंकहरुले ३३ सय ५० किलो सुन आयात गरेका थिए । चालू आर्थिक वर्ष सुरु भएदेखि नै सुनको मूल्य लगातार बढेपछि स्थानीय बजारमा सुनको माग ह्वात्तै घटेको थियो । चालु आर्थिक बर्ष लाग्नु पूर्व ६० हजार रूपैयाँ प्रतितोला कारोबार हुँदै आएको सुनको मूल्य साउन लागेसँगै लगातार बढ्दै प्रतितोला ७३ हजार ५ सय रूपैयाँ सम्म बृद्धि भए पछि बजारमा सुनको माग घटेको थियो ।

बजारमा माग घटेसँगै आयातमा कमी आएको नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्यले बताए । मूल्य बढेका कारण चालू आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैकहरूले सुन आयात गर्नै छाडेका थिए । चीन र अमेरिकाबिचको व्यापार युद्धका कारण लगातार सुनको मूल्य बढेको र सुन आयत नै बन्द भएको महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए । ‘मूल्यको प्रभाव एसियन र युरोपियन दुबै देशमा पर्न गयो’ शाक्यले भने ‘त्यसकारण सुरुका ३ महिना त सुन आयत बन्द भयो ।’

गत कात्तिक १८ को मन्त्रिपरिषद बैठकले सुन–चाँदीको भन्सार दर बढाएको थियो । सरकारले प्रति १० ग्राम सुनको भन्सार दर ५ हजार रूपैयाँबाट बढाएर ६५ सय रूपैयाँ पुर्‍याएको थियो । चाँदीमा प्रति १० ग्राम ५६ रूपैयाँबाट बढाएर ७५ रूपैंयाँ पु¥याएको थियो । त्यसअघि चालू आवको बजेटमार्फत प्रति १० ग्राम सुनको भन्सार दर ४२ सय रूपैंयाँबाट बढाएर पाँच हजार रूपैंयाँ पुर्‍याइएको थियो । व्यवसायीले माग बढाएसँगै वाणिज्य बैकहरूले पुनः आयात गरेका थिए । कात्तिकदेखि वाणिज्य बैकहरूले पुनः नयाँ सुन आयात गर्न थालेका हुन् ।

विवाहको सिजन र बढेको मूल्यले स्थायित्व पाएसँगै स्थानीय बजारमा सुनको खपत बढेपछि वाणिज्य बैकहरूले गत कात्तिकमा ६ सय केजी आयात गरेका थिए भने मंसिरमा ५० किलो बढाउँदै उनीहरूले ६ सय ५० किलो सुन आयात गरेको थिए । पुस लागेयता भने वाणिज्य बैकहरूले सुन आयात गरेका छैनन् । हालको बजारको अवस्थाले गत वर्षको तुलनामा सुनको खपत स्वाट्टै घट्ने देखिएको छ । हाल सम्मको आयातको परिमाणले पनि यसलाई पुष्टि गरेको हो । गत वर्ष आयात भएर ७ हजार ४ सय ५० किलो सुन स्थानीय बजारमा आएको थियो । चालु आवको पहिलो पाँच महिनामा जम्मा १२ सय ५० किलोमात्रै आयात भएको छ । मंसिरमा थप ५० किलो सुन आयात भएको शाक्यको भनाइ छ । यतिबेला भन्सार तिरेर आएको सुन स्थानीय बजारमै खपत भइरहेको दाबी उनको छ । किनकि अहिले नेपालमा भन्दा भारतीय बजारमा सुन महँगो छ । जसले नेपाली भन्सारबाट आएको सुन भारतीय बजारमा पुग्ने सम्भावना नरहेको शाक्यको भनाइ छ ।
नेपाली बजारमा दैनिक २५ किलो सुनको माग रहेको छ ।