मलेसिया जाने नेपाली कामदारको संख्या बढ्यो

प्रकाशित मिति:

बुटवल – कामदार पठाउने प्रक्रिया बन्द भएर डेढ वर्षपछि मलेसिया खुलेपछि संस्थागत रुपमा ७ हजार युवाले श्रम स्वीकृति लिएका छन् । २ महिनामा मलेसियाको श्रम स्वीकृति लिनेको संख्यामा शतप्रतिशतले वृद्धि भएको छ । भदौमा २ देशबीच भएको छलफलपछि संस्थागत रुपमा माग खुला गरिएपछि कात्तिक र मंसिरमा ७ हजार २५ जनाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्याकंमा उल्लेख छ ।

विभागका महानिर्देशक भिष्मकुमार भुसालले मागपत्र प्रमाणिकरणमा आएको सुधारसँगै मलेसिया जान श्रम स्वीकृति लिने श्रमिकको संख्या बढ्दै गएको बताए । मलेसिया खुलेपछि कात्तिकमा २ हजार १ सय र मंसिरमा ४ हजार ९२२ युवाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ । यो समाचार आजको कारोबार दैनिकमा छ ।