आगो ताप्ने क्रममा जलेर एक वृद्धाको मृत्यु

प्रकाशित मिति:

बारा – प्रसौनी गाउपालिकामा आगो ताप्ने क्रममा जलेर एक वृद्धाको मृत्यु भएको छ। वडा नम्बर ७ बलुवाटोलकी ७० वर्षीया सानोदेवी साहको मृत्यु भएको हो। घरमा आगो ताप्ने क्रममा जलेर घाइते साहको उपचारको क्रममा निधन भएको इलाका प्रहरी कार्यालय सिमराका डिएसपी गोविन्द पुरीले जानकारी दिए ।

घाइते साहको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। पछिल्लो दुई सातादेखि बढेको अत्याधिक चिसो र शीतलहरका कारण बाराका दलित र मुसहर वस्तीका स्थानीयहरु बढी प्रभावित भएका छन्। चिसो र शीतलहरका कारण प्रभावितहरुका लागि न्यानो कपडा र वन समितिहरुलाई दाउरा वितरण गर्न आग्रह गरेको बाराका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलले बताए।