भ्रमण वर्षको शुभारम्भमा नौ स्थानमा विशेष कार्यक्रम

प्रकाशित मिति:

हेटौँडा – प्रदेश ३ सरकारले नेपाल भ्रमण वर्ष २०२० को अवसरमा प्रदेशका नौ स्थानमा विशेष कार्यक्रम गर्ने भएको छ । प्रदेश सरकारले पर्यटक आकर्षित गर्न पहिलो चरणमा भ्रमण वर्ष लक्षित गरी प्रदेशका पर्यटकीयस्थलहरुमा विशेष कार्यक्रम गर्ने सार्वजनिक गरेको हो । प्रदेशको उद्योग पर्यटन वन तथा वातावरणमन्त्री अरुणप्रसाद नेपालले नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भलाई सफल बनाउन पहिलो चरणको कार्यक्रमहरु सार्वजनिक गरिएको भन्दै आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी पर्यटन विकासका योजना बनाउनु आवश्यक भएको बताउनुभयो ।

उहाँले भ्रमण वर्षको अवसरमा अङ्ग्रेजी वर्षको पहिलो दिन सङ्घीय सरकारले काठमाडौँको दशरथ रङ्गशालामा र प्रदेश ३ सरकारले चितवनको सौराहामा विशेष कार्यक्रम गर्ने तय गरेको जानकारी दिनुभयो । सन् २०२० देखि सन् २०३० सम्मलाई प्रदेश सरकारले पर्यटन दशकको रुपमा लिएर काम थालेको बताउँदै उहाँले पर्यटन दशक अवधिमा पर्यटन पूर्वाधार विकासका काम र पर्यटकीय क्षेत्रमा सेवा सुविधालगायतका संरचना निर्माण गर्ने योजना रहेको सुनाउनुभयो ।

नेपाल भ्रमण वर्षको अवसरमा प्रदेश सरकारले जनवरीको पहिलो दिन अर्थात पुस १६ गते रसुवाको नाकामा विदेशी पाउनालाई स्वागत, सांस्कृतिक खाना र स्याफ्रुबेशीमा कल्चरलस्टेजसहितको कार्यक्रम, तातोपानी नाकामा पनि विदेशी पाउनालाई स्वागत र सांस्कृतिक खाना तथा चितवन विमानस्थलमा विदेशी पाउनालाई स्वागत र होर्डिङ्गबोर्ड स्थापना गर्ने कार्यक्रम रहेको छ ।

यस्तै जनवरीको पहिलो दिन अर्थात पुस १६ गते सौराहामा स्ट्रिट कल्चरल डान्स, सौराहामा नै हात्ती वाक तथा हात्ती सुन्दरी प्रतियोगिता जनवरी १ देखि ४ तारिखसम्म र सन् २०१९ को अन्तिम दिन ठमेलमा स्ट्रिट कल्चरल डान्सलगायतका कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्री नेपालले भन्नुभयो, अन्य व्यववसायमा जस्तै पर्यटन क्षेत्रमा पनि व्यापार घाटा छ । नेपालका पर्यटकीय स्थलमा नजाने र विदेश घुम्न जाँदा बढी खर्च गर्ने भएकोले पर्यटन क्षेत्रमा व्यापार घाटा बढेको बताउँदै मन्त्री नेपालले भन्नुभयो – नेपालका पर्यटकीय स्थलहरुको प्रबद्र्धन, प्रचार प्रसार र व्यापारीकरणको कमीका कारण विदेश घुम्न जानेक्रम बढेको हो । प्रदेश सरकार बाह्य पर्यटकको बसाइका लम्बाइ बढाउने र आन्तरिक पर्यटकलाई देशमा नै घुम्ने वातावरण निर्माणमा लागेको उहाँले बताउनुभयो ।