नेकपाबाटै नयाँ सभामुख बन्ने पक्का : सञ्चारमन्त्री बाँस्कोटा

प्रकाशित मिति:

कञ्चनपुर  – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रतिनिधिसभामा सत्तारूढ दलकै व्यक्ति सभामुख पदमा आउने बताएका छन् । कञ्चनपुरको भीमदत्तनगरमा आज बिहान प्रेस सङ्गठन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अन्य दललाई उक्त पद नदिने सङ्केत गरे । “सत्तापक्षमै सभामुख हुने व्यक्ति छँदैछन्”, मन्त्री बाँस्कोटाले भने, “सत्तापक्षका उच्चस्तरका नेताबीच सम्भवतः यो पदका विषयमा सहमति भइसकेको छ ।”

उनले सभामुखको विषय चाँडै टुङ्गो लाग्ने जानकारीसमेत दिए । सरकारले सम्भावनाहरुको खोजी गर्दै प्रगतितर्फ मुलुकलाई डो-याउँदै लगिरहेको बताउँदै उनले ठूला विकास निर्माणका परियोजनामा भइरहेका ढिलासुस्ती पनि हट्दै गएको जिकिर गरे । “समृद्धि राष्ट्रिय एजेण्डा हो”, उनले भने, “हामी नयाँ युगमा प्रवेश गरिसकेपछि नवनिर्माण र पुनःनिर्माण अभियानमा जुटेका छौँ ।”

उनले सुदूरपश्चिममा प्रदेशस्तरको अस्पताललाई स्तरोन्नति गर्ने, मध्यपहाडी लोकमार्ग शुरुआत र दार्चुलाको ब्याससम्म मोटरेबल सडक निर्माणलगायतका काममा सरकारले बजेट विनियोजन गरेर अघि बढेको जानकारी दिए । त्यसैगरी स्थानीय, प्रदेश र सङ्घीय गरी तीन वटै सरकार कानून निर्माणमा जुटिरहेको बताउँदै मन्त्री बाँस्कोटाले मुलभूतरूपमा संसद्मा दर्ता र विभिन्न समितिमा गरी ४५–४६ पेश भएका कानूनलाई अन्तिम रूप दिइने बताए । त्यसैगरी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरण सरकारले त्यसै नछाड्ने मन्त्री बाँस्कोटाले बताए । विभिन्न कोणबाट अनुसन्धान भइरहेको बताउँदै उनले घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याएर छाड्ने बताए ।