बुटवल – चिसोले देशलाई नै सताइरहेका बेलामा बुधबार वर्षासमेत हुने भएको छ । मंगलबार राति नै उच्च पहाडी र हिमाली भूभागमा हिमपात हुनेछ । पश्चिमी क्षेत्रमा बुधबार राति वर्षा हुनेछ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु वासीले पश्चिमी वायुको प्रभावका काररण हिमपात र वर्षाको सम्भावना रहको बताएकी छिन् ।
उनले यसअघिका दिनजस्तो तराईमा हुस्सू लागिरहने अवस्था नरहेको बताएकी छिन् । मंगलबार तराईवासीले घाम देख्न पाउने उनले बताइन् । हाल पश्चिमी न्यून चापीय प्रणाली जम्मू–कश्मीरको माथि रहेको छ।
मंगलबार रातिदेखि जम्मू–कश्मीरको मौसमी प्रभाव बढी देख्न थालिने पनि बताइएको छ । तराईका केही स्थानमा दुई सातादेखि स्थानीयले घामको मुख देख्न पाएका छैनन् । उनले भनिन्, ‘तराईमा हुस्सु लागको छैन । आज तराईमा पूरै ढाक्दैन । हल्का घाम लाग्छ । बुधबार रातिपछि वर्षा हुन सक्ने अवस्था देखिन्छ ।’
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श दिने क्रममा महाशाखाले मौसममा आउने बदलीसंगै चिसो रही रहने हुनाले, चिसोको असरका साथै अन्य प्रभावहरुबाट बच्न सतर्कता अपनाउन अनुरोध गरेको छ । काठमाडौं उपत्यकामा मंगलबार बिहान ६ बजेको तापक्रम १.६ डिग्री सेल्सियस तापक्रम रहेको थियो ।सोमबारको न्यूनतम तापक्रम १.२ डिग्री रहेको थियो । अधिकतम तापक्रम १८ डिग्री थियो ।