सामान्य परिवारका लागि प्याज सुन जस्तै

१५ पुष २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
29 Shares


डा.श्रीभगवान ठाकुर – पृष्ठभूमिः प्याजको अकाशिदो भाउ ई.सं. १९९७ मा रू. १०० र हाल २०१९मा रू २५० प्रति किलो सुनेर जीउ काम्न थाल्छ । प्याज समान्य परिवारको लागि सुन समान नै भईसकेको कुरा सामाजिक संजालमा धेरै नै सुनिसकेका छौं । नेपालमा बालीको पाकेट पैकेजको अवधारणामा कृषि मन्त्रालय मार्फत १५५ मिलियन रूपैयाको प्याजको मिशन पनि राम्रो उपलब्धिका साथ सम्पन्न पनि भई सकेको छ । तर देश प्याजको लागि अति नै बढी माँग रहेको र उत्पादनले पूर्ति गर्न सकेको अवस्था छैन । नेपालमा आफ्रनै उत्पादनले ८० प्रतिशत प्याज भारत लगायत अन्य बाहिरी देशबाट आयात गर्नु पर्ने अवस्था छ । नेपालमा तराई मधेका १० जिल्लाहरूमाः सिरहा, सप्तरी, सर्लाही, बारा, रूपन्देही, धनुषा, दाङ्ग, पर्सा, बाँके र बर्दियामा विषेशगरी प्याजको खेती गरिन्छ । गतवर्षको तथ्याँकअनुसार प्याज २० हजार हेक्टरमा खेती गरी २३९ हजार टन उत्पादन भएको थियो । सोही वर्ष स्थानीय बजारको माग पूर्ति गर्न ३१० हजार टन लगभग रू. ३० अर्वबरावरको बाहिरबाट आयात गरिएको थियो । तर नेपालको भौगोलिक विविधता, वितिय व्यवस्थापन, र प्रविधिको तारतम्यता मिलाएर प्याजको खेती, भंडारण तथा विक्रीवितरणको साथै उपभोगको समुचित व्यवस्थापन गरेमा प्याजबाट कृषकहरूले अत्यधिक आम्दानी लिनुका साथै समृद्धि हासिलमा टेवा पुग्न सक्छ । प्याज हाम्रो समाजमा पाईने गानो समुहका तरकारीहरू मध्ये एउटा प्रख्यात तरकारी एवं स्वादिष्ट बास्नादार मसला बाली हो । यसमा थोरै फ्याट, प्रोटिन, कार्बोहाइड्रेड, फाइबर, कैरोटिन, भिटामिन बी.(बी ) र सी., पोटासियम, म्याग्नेशियम, क्याल्सीयम, फस्फोरस प्रसस्त मात्रामा पाईन्छ । यसको प्रयोग औषधिको रूपमा शरीर विष निकाल्न, यूरिकएसिड घटाउन, माँसपेशीको समस्या कम गर्न, शारीरिक विकास, पाचन शक्ति बढाउन, पेट दुखाईमा, अनिद्रा घटाउन, श्वास फेर्न गाह्रो भएमा, बाथ रोग लागेमा, लु, हैजा, कमलपित्त, मुर्छा, मलेरिया, आगोले पोलेमा, बारूला माहुरी कीराले टोकेमा, चिसो वा रूघाखोकी लागेमा गरिन्छ । यसमा पाईने पिरोेपन एलाईल प्रोपाईल डायसल्फाईड भन्ने उडनशील तेलको कारणले हो, जुन प्रजाती, उत्पादन हुने समय र भण्डारणको अवधिमा भर पर्दछ, जसले आँखाको आसु निकाली विभिन्न संक्रमणबाट बचाउँछ । यसको बाहिरीे बोक्राको रंग क्यूरसेटिन भन्ने तत्वले बनेको हुन्छ । यसको हरियो पात तरकारीको रूपमा, गानो सलाद, पकौडा, प्याजी, अचार, चटनी, रोटीपराठा, ढोसाको रूपमा तथा अरू तरकारीसंग मिसाएर तरकारीको रूपमा एवं अनेक प्रकारका व्यञ्जन समोसा, मःमः, चाउचाउ, चाउमिन, मासु आदिमा मसलाको रूपमा पनि सर्वत्र प्रयोग गरिन्छ ।नेपालमा उपभोक्ताको माग आपूर्ति न हुनुमा प्रमुख समस्या क्षेत्रफल तथा उत्पादन न्यून हुनु हो । यसको खेती प्रायः जसो हिउँदमा गरिन्छ र उत्पादन चैत्र, बैशाखमा हुन्छ ।

यस प्रकारले उत्पादीत प्याजको भंडारण गर्ने समुचित व्यवस्था नभएको र घरेलु तरीकाले लामो समयसम्म राख्न नसकी साउन, भाद्र सम्म खपत हुन्छ । साथै हाम्रो देशमा सब भन्दा बढी प्याजको खपत फागु, दशैँ , तिहार र छठ जस्तो चाँड पर्वका साथै विहेबारीको बेला पनि माग बढी हुने भएकोले सो समयमा स्थानीय रूपमा उत्पादीत प्याज उपलब्ध नहुने र महङ्गो मूल्य तिरी भारतबाट प्याज आयात गर्नु पर्ने बाध्यता छ, फलस्वरूप ठुलो रकम विदेशमा जाने गरेको छ । यसवर्ष भारत लगायत चीन, अफगानिस्तान, पाकिस्तानबाट पनि आयात गर्नु परेको छ ।प्याजको खेतीको लागि तराई मधेश तथा मध्यपहाडका तल्लो भेक उपयुक्त माटो र हावापानी भएको भूगोल हो । तराईमधेशमा प्याजको क्षेत्रफल धेरै भए पनि उत्पादकत्व अरू देशको तुलनामा धेरै नै न्यून रहेको छ । तराईमधेशमा कृषकहरूले उन्नत जात प्रयोग नगर्नु, उन्नत खेती प्रविधि (समय, नर्सरी, सिंचाई, गोडमेल, रोगकीरा, चिसो असिना व्यवस्थापन) न अपनाउनु, उचित भण्डारण, समुचित बजारीकरण, प्रशोधन व्यवस्था नहुनुका कारणले नेपालको उत्पादन न्यून रहेको छ । जसले गर्दा वर्षै पिच्छे हाम्रो देशमा धेरै मंहगो प्याजको मारमा परेको छ । ती व्यवधानहरूलाई मध्ये उपयुक्त प्रविधि र जातको छनोट गरी सही समयमा खेती गर्न सके आफ्नै उत्पादनले सालै भरि प्याजको माग आपूर्तिका साथै देश वाहिरबाट पनि विदेशी मुद्रा आर्जन गर्न सक्ने अपार सम्भावना रहेको छ । प्याज सालै भरि उत्पादन गर्न सकिने बाली भएकोले प्याज वर्षैभरि आपूर्ति हुने प्रविधि स्थानान्तर गरी बाली सघनता बढाउनु बाहेक अरू उपाय हुन सक्दैन । प्याज २०–२५ डिग्री सेन्टीग्रेड तापक्रममा उम्रन सक्ने, मध्यम तापक्रम र छोटो प्रकाश अवधिमा विरूवाको वृद्धिविकास र उच्च तापक्रम र लामो प्रकाश अवधिमा गानोको विकास राम्रोसंग हुन सकिने तथा ज्यादै अम्लियपन तथा क्षारियपनबाहेक, मोथेझार नभएको दोमट वा बलौटे दोमटमाटोमा हुन सक्छ । प्याजको सघनता बढाउन मुख्य गरी दुई तरीका (१) बीउबाट बेर्ना बनाई रोपने, (२) बीउबाट सिधै सेट (सानो गानो) बनाई रोपने विधिबाट गर्न सकिन्छ ।(१) बीउबाट बेर्ना बनाई रोपने विधिमा (क) हिउँदे र (ख) वर्षे गरी दुई सीजन गरी बाली सघनता बढाउन सकिन्छ । (२) बीउबाट सिधै सेट (सानो गानो) बनाई रोपने विधिमा वर्षा याममा रोपेर प्याजको खेतीको क्षेत्रफल बढाउन सकिन्छ ।बीउबाट बेर्ना रोपनेः हिउँदमा तराई मधेश र मध्यपहाडमा असोज–कार्तिकमा ठुलो क्षेत्रफलमा लगाई बेर्ना मंशीर–पौसमा रोपेर चैत्र–बैसाखमा प्याजको गानो उत्पादन लिन सकिन्छ ।बर्षामा तराई मधेश र मध्यपहाडमा कम झारपात हुने, पानी नजम्ने क्षेत्रमा जेष्ठ–अषाढमा बीउ रोपी अग्लो व्याडमा प्लाष्टिकको गुमोज (टनेल) बनाई साउन भदौमा बेर्ना रोपी कार्तिक मंशीरमा प्याजको पातसहितको गानो अत्यधिक उत्पादन गर्न सकिन्छ । पहाडमा बैसाख जेष्ठमा बीउ लगाई साउन भदौमा बेर्ना सारी पात सहितको गानो प्याज मंशीर पौसमा उत्पादन गर्न सकिन्छ ।

बीउबाट सिधै सेट (सानो गानो) बनाई रोपनेः तराईमधेशमा र मध्यपहाडमा असोज कार्तिकमा पातलो गरी सिधै बीउ छरेर फागुन चैत्रमा १० ग्रामको सानो गानो (सेट) उत्पादनगरी राख्ने, अनि साउन भदौमा ड्यांग बनाई गानो (सेट) रोपी कार्तिक मंशीरमा पात सहितको गानो प्याज उत्पादन लिन सकिन्छ । नेपालमा पाईने प्याजका प्रचलित जात तथा यसका गुणहरूः– .एग्री फाउण्ड डार्क रेड : यो बेमौसममा खेती गर्न सकिने जात हो । सेट बाट गानो तथा हरियो साग उत्पादन गर्नको लागी यो जातले प्रशिद्ध नाम कमाएको छ । बिषेश गरी नेपालीहरूको चाड पर्व ( भाद्र महिना देखि कार्तिक सम्म ) प्याज धेरै महङ्गो हुने गर्दछ । त्यसैले आषाढ श्रावण तिर यस्को सेट रोपेर गानो उत्पादन गर्दा बढी मुल्यमा बिक्री गर्न सकिन्छ ।२. एग्री फाउण्ड लाईट रेड : यो पनि डार्क रेड जस्तै बेमौसममा लगाउन सकिने जात हो । ३.रेड क्रीयोल : यो छोटो अबधिमा तयार हुने जात हो । गानो गाढा रातो र पात गाढा हरियो हुन्छ । यो जातको बाली तयार हुन (गानो खन्नको लागी) १६०–१८० दिन लाग्दछ । उत्पादन २०–२४ टनसम्म प्रति हे. हुन सक्दछ । यस्को भण्डारण गुण पनि राम्रो छ ।४. एन ५३ : यो रेड क्रीयोल भन्दा पनि छोटो अबधिमा तयार हुने जात हो । यस्को गानो हल्का रातो र पात हल्का हरियो हुन्छ । यो करिव १२० दिनमै तयार हुन्छ । यस्को उत्पादन करिब २० टनसम्म प्रति हे. सम्म हुन सक्दछ । यो जातको प्याज भण्डारणको लागी उपयूक्त हुंदैन ।.पुसा रेड : यो छोटो दिनमा हुने गानो रातो कम पिरो, उत्पादन १५–२० टनसम्म प्रति हे. हुन्छ र भण्डार गर्न उपयुक्त हुंदैन ।६.नासिक रेड : यो छोटो दिनमा हुने, गानो रातो, अलि अलि पीरो र उत्पादन २०–२४ टनसम्म प्रति हे.सम्म हुन सक्दछ ।७. काठमाण्डौ स्थानिय :यो छोटो दिनमा हुने, गानो खैरो रङ्गको र पीरो हुने जात हो । यस्को उत्पादन २०–२५ टनसम्म प्रति हे.हुन सक्दछ ।. बेमौशमी १ः यो सानो अवधिमा तयारहुने, बेमौशममा बर्षे प्याजको रूपमा हुने, ठुलो आकारको गानो फल्ने, ४६ टनसम्म प्रति हे. हरियो गानो उत्पादन हुन सक्छ ।अतः राष्ट्रको प्याज उत्पादन, खाद्य तथा पोषणको समस्या, आयात, गरीवि तथा युवा पलायनको अवस्थालाई मध्य नजर राखी कृषकहरूको आम्दानी बढाउन, आयात प्रतिस्थापन र समृद्धिको नारालाई साकार पार्ने उद्देश्यले स्थानीय सरकारले ठाउँ र मौशम सुहाउँदो हिसाबले बढीभन्दा बढी आफ्नो नीति तथा कार्यक्रमबनाई बजेट विनियोजनगरी सालैभरि प्याजको उत्पादन गर्ने, बर्षा असिना र अन्य जोखीमबाट बच्न बीमाको व्यवस्थाका साथै यसका समुचित भंडारण र बजारीकरणमा जोड दिन अनुरोध गरिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया