मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिने उपसचिव पक्राउ

प्रकाशित मिति:

काठमाडौं । मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिएको अभियोगमा जिल्ला प्रशासन कार्यालय दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल पक्राउ परेका छन्।अख्तियार दुरुपयोग अनुसनधान आयोगले रिजाललाई मंगलबार पक्राउ गरेको हो। उपसचिव रिजाललाई आफ्नो क्षेत्राधिकार भित्रका मुद्दाका अभियुक्तलाई धरौटीमा रिहा गर्न घुस लिएको अभियोग लागेको छ। भ्रष्टाचारजन्य कार्य गरेको सम्बन्धमा अनुसन्धान भइरहेकामा आज रिजाललाई पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

यस्तै, आयोगले ३ नम्बर नापी गोश्वारा कार्यालय काठमाडौँका तत्कालीन नापी अधिकृत शम्भुप्रसाद शर्मासहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। काठमाडौँको कित्ता नम्बर २३७ को जग्गा नयाँ नापी हुँदा उक्त कित्तासँगै रहेको सार्वजनिक बाटोको जग्गासमेत घुसाई भ्रष्टाचार गरेको पाइएको छ। सरकारी मूल्याङ्कन पुस्तिकामा ६ लाख ७५ हजार रुपैयाँका दरले चार लाख १२ हजार ६३७ रुपैयाँ मूल्य पर्ने जग्गा गैरकानूनी तरिकाले व्यक्तिको नाममा दर्ता गरेको अभियोग लागेको छ। सो कार्यमा तत्कालीन नापी प्रमुख शर्मा, मालपोत अधिकृत विष्णुकुमार राई र जग्गाधनी अरुणकुमार रञ्जित समेतको मिलेमतो देखिएकाले उनीहरुविरुद्ध विशेष अदालतमा मुुद्दा दायर गरेको हो। रासस