कामलाई मैले सधै अवसरको रुपमा लिएँ : चापागाई

प्रकाशित मिति:

पाल्पाको तत्कालिन गेझामा र हालको रामपुर नगरपालिकाकामा जन्मीएका सतिश चापागाईं पाल्पामा १२ बर्ष पत्रकारिता गरेर २००८ मा अमेरिका पुग्नु भएको हो । उहां अमेरिकामा श्रीमती र दुई छोरीहरुसंग बस्दै आउनु भएको छ । नेप्लिज डायस्पोरा डटकमको प्रधान सम्पादक तथा जोगसन्जोग नामक कार्यक्रममा सन्चालक चापागाई संग पत्रकारीता गर्दै गर्दाको अनुभव समेटेर गरीएको कुराकानी ।

तपाईं पत्रकारितामा कसरी आउनु भयो ?
साहित्यमा सानैदेखि रुचि थियो । बिद्यालयमा कविता वाचन प्रतियोगीतामा भाग लिन्थें । प्रथम द्वितीय पनि हुन्थें । रेडियोको जतिबेला पनि सुन्नुपर्थ्यो । रेडियो नेपालमा बाल कविता लेखेर पठाउने गर्थें । यो रुचि र बानीले गर्दा म पत्रपत्रिका पढ्न लागें । क्याम्पस पढ्न तानसेन आएपछि मैले पत्रपत्रिकाका अफिस खोज्दै हिडें । २०५४ सालको कुरा हो, म कविता छपाउन तानसेनको पाल्पा टाईम्स साप्ताहिकमा पुगें । कविता छापिएपछी पत्रिका लिन गएको बेला यो पत्रिकाका सम्पादक झपेन्द्र गहिरे लगायतका दाजुहरुसंग भेट भयो । त्यही भेटमा उहाँहरुले समाचार संकलनका लागि कम गर्न सक्ने भए प्रेस पास दिन्छौं भन्नुभयो । म राजी भएँ । अनि मेरो पत्रकारिता शुरु भयो ।

त्यसपछि ?
त्यसपछि मैले पाल्पाको गाउँले देउराली साप्ताहिकमा पनि लेख्न शुरु गरें । हरेक हप्ता गाउँका एउटा कथा लेख्ने गर्थे । बुटवलको जनसंघर्ष दैनिकमा काम गरें । काठमाडौँका केहि साप्ताहिकहरुमा लेख रचना पठाउने गर्थें । पछि मैले रेडियो नेपालको पाल्पा रिपोर्टर र कामना प्रकाशनको पाल्पा शाखा प्रमुख भएर ७ बर्ष कम गरें । पाल्पा टाईम्समा प्रबन्ध निर्देशक र पछि नवजनचेतना साप्ताहिक (हाल दैनिक)मा पनि सम्पादक र प्रबन्ध निर्देशक भएर काम गरें । यहि बीचमा पाल्पाको श्रीनगर एफ एममा समाचार र कार्यक्रम प्रमुख भएर दुई बर्ष काम गरें । पश्चिमाञ्चल रेडियोमा स्टेशन म्यानेजर भएँ । अमेरिका आउने भिसा लागिसकेपछि पनि वालिंगको रेडियो आँधिखोला एफएममा स्टेशन म्यानेजर भएर केहि महिना काम गरें ।

पत्रकारिताका संस्थागत जिम्मेवारी पनि लिनु भयो ?
म पाल्पाको पत्रकार महासंघको कार्यसमिति सदस्य र दुई पटक केन्द्रिय पार्षद भएर बसें । प्रेस युनियन पाल्पाको सभापति, मेचीमहाकाली मिडिया सोसाईटी पाल्पाको संस्थापक सभापति भएर जिम्मेवारी बहन गरें । नेपाल प्रेस युनियनको केन्द्रिय उपसभापतिसम्म बनें । मैले गैर सरकारी संस्था महासंघ पाल्पामा दुई कार्यकाल सदस्य भएर काम गरें । मैले केहि युवा साथीहरुसंग मिलेर करियर ग्रुप नेपालको स्थापना गरें । पाल्पामा युवाहरुको चर्चित र प्रिय संस्था करियर ग्रुप नेपालको संस्थापक अध्यक्ष हुँ । अरु साहित्यिक कामहरु र तालिम दिने कामहरु गर्थें ।

यहाँसम्म आइपुग्दा कतिको चुनौती खेप्नु परेको छ ?
चुनौती र अवसर एकै सिक्काका दुई पाटा हुन् । पाल्पाको एउटा दुर्गम गाउँबाट आएर पत्रकारिता शुरु गर्नु सजिलो अवश्य थिएन । त्यसमाथि म एउटा मध्यम आर्थिक अवस्था भएको मान्छे । प्रारम्भमा समाचार लेखेर मात्र पुग्दैनथ्यो । पत्रिकाको ब्यबस्थान पनि हेर्नु पर्थ्यो । ग्राहक बनाउने, बिज्ञापन खोज्ने काम गर्नुपर्थ्यो । त्यतिमात्र होइन बेलाबेलामा पत्रिका आफैले ग्राहकको घरसम्म पुर्याउनु पनि पर्थ्यो । मैले यी सबै काम गरेको हुँ । कामलाई त मैले सधै अवसरको रुपमा लिएँ । तर, मुख्य चुनौती भनेको यति धेरै काम गर्दा पनि आर्थिक रुपमा सधै कम्जोर नै थिएँ । झन्डै १२ बर्ष पत्रकारितामा सक्रिय भएर काम गर्दापनि अवस्था नसुध्रिएपछि अरब जाने प्रक्रिया थाल्न लाग्दा अमेरिकाको चिठ्ठा पर्यो र अमेरिका आएँ।

यो क्षेत्रमा आएपछि के पाउनु भयो, के गुमाउनु भयो ?
यो क्षेत्रमा आएपछि मैले नाम प्रशस्त कमाएँ । धेरै साथीहरुको सम्बन्ध कमाएँ । बाँच्नका लागि थोरै पैसा र धेरै आत्मसम्मान कमाएँ । मैले मेरो परिवार र आफन्तसंगको समय भने गुमाएँ है । अन्यथा, म एउटा सामान्य परिवारबाट आएको हुँ । पत्रकारिता क्षेत्रमा आएकै कारण मैले मेरो सम्बन्धको दायरा फराकिलो बनाउन सकें । आफूभित्रको साहित्यिक र समाजसेवाको आयामलाई पनि अलि बिस्तृत बनाउन सकें ।

यहाँले पत्रकारिता सुरु गरेदेखिको कुनै अविस्मरणीय क्षण ?
पत्रकारिता शुरु गरेदेखिका अविस्मरणीय क्षणहरु धेरै नै छन् । मलाई सम्झनामा आईरहने क्षण भनेको पाल्पा टाईम्स साप्ताहिक प्रकाशन गर्न हामी त्यो बेला चितवन जानुपर्थ्यो । मंगलबारको पत्रिका प्रकाशन गर्न आईतबार बिहानै चितवन पुग्नुपर्ने हुन्थ्यो। अहिले हामी आफ्नै एउटा ल्यापटपमा एउटा अन्लाईन चलाएर संसारभर त्यो समाचार पुर्याउन सक्छौं । हिजो आवश्यकताले केके गरियो तर ती कामहरु आज आफैले विश्वास गर्न नसक्ने खालका छन् ।

पत्रकारिता गर्न चाहनेलाई के सुझाव दिनुहुन्छ ?
अहिलेको समयमा पत्रकारिता गर्न प्रविधिका रुपमा सजिलो छ तर प्रतिष्पर्धाका हिसाबले अहिले पनि धेरै चुनौती छन् । त्यसका स्वरूप बदलिएका छन् । नयाँ आउने साथीहरुलाई नयाँ प्रबिधिको सम्पूर्ण ज्ञान लिएर आउन अनुरोध गर्दछु । छिटो छिटो चर्चित हुनभन्दा बिस्तारै अगाडी बढ्न सुझाब दिन्छु । सुई लगाएर फुलेको काँक्राको जस्तो प्रगतिले जीवनमा दिर्घकालिन हुदैन भन्न चाहन्छु ।

विशेषगरी कुन बिषयमा तपाई कलम चलाउन मन पराउनु हुन्छ ?
मलाई खेलकुद बाहेक अरु धेरै विधामा लेख्न मन पर्छ । साहित्य, समाजसेवा, राजनीति, चलचित्र मैले कलम चलाईरहेका विधा हुन । मेरो फिचर लेखनलाई धेरैले मन पराउनुहुन्थ्यो । धेरै बर्ष पत्रपत्रिकामा अन्तरबार्ता लिएँ, पछि रेडियोमा र अहिले भिडियोमा लिने गरेको छु । अन्तरबार्ता गर्न मलाई धेरै मन पर्छ । मैले दुई हजार भन्दा बढी नै अन्तरबार्ताहरु गरेको छु ।

अन्त्यमा केही भन्न चाहनु हुन्छ ?
सवल नेपाल साप्ताहिक र सबलपोष्ट अनलाईनलाई यो अवसरका लागि धेरै धेरै धेरै धन्यवाद ब्यक्त गर्दछु । मैले लेखेको र मैले नै अभिनय गरेको एउटा गीत भर्खर सार्बजनिक भएको छ । खोजेर हेरिदिनु होला ।