चीनका यौनकर्मी बधुवा मजदुरीबाट मुक्त

प्रकाशित मिति:

चीनले देहव्यापार गर्नेलाई दिइने सजाय अन्त्य गर्ने भएको छ। देहव्यापारमा संलग्नलाई प्रहरीले गिरफ्तार गरेर कथित शिक्षा केन्द्रमा दुई वर्षसम्म हिरासतमा राख्ने व्यवस्था थियो। त्यसरी पक्राउ परेकालाई जबरजस्ती काममा लगाइन्थ्यो। उनीहरूले खेलौना र घरायसी प्रयोजनका सामग्री बनाउँथे। डिसेम्बर २९ देखि त्यसरी हिरासतमा राख्ने प्रणाली अन्त्य हुनेछ। हाल हिरासतमा रहेकालाई रिहा गरिने चिनियाँ सरकारी सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ। देहव्यापार चीनमा गैरकानूनी नै छ। देहव्यापारमा संलग्नलाई सजाय वापत १५ दिन हिरासतका साथै पाँच हजार युआन बराबरको जरिवाना व्यवस्था गरिएको छ। करिब २० वर्षअघि लागू भएको “हिरासत र शिक्षा” प्रणालीले “राम्रो सामाजिक वातावरण र सुव्यवस्था” कायम गर्न सहयोग गरेको चीनको सरकारी माध्यमले दाबी गरेको छ। समयसँगै प्रणालीको औचित्य सकिँदै गएको पनि जनाएको छ। सन् २०१३ मा एसिया क्याटलिस्ट नामक एउटा गैरसरकारी संस्थाले गरेको अध्ययनमा योजनाको प्रभावकारिताबारे प्रश्न गरिएको थियो। दुई शहरका ३० जना महिला यौनकर्मीसँग अन्तर्वार्ता गरी प्रतिवेदन पनि तयार गरिएको थियो। प्रतिवेदनमा हिरासतमा हुनेहरूले नयाँ सीप सिक्न नसकेकाले रिहा भएपछि खासै सहयोग नपुग्ने दाबी गरिएको छ। उनीहरूले सामान्यतया शारीरिक श्रम गर्नुपर्ने पनि उल्लेख गरिएको छ। प्रतिवेदनमा भनिएको छस् “हामीले अन्तर्वार्ता लिएका सबै यौनकर्मीहरू रिहा हुनासाथ यौन व्यापारमै फर्किए।”

ह्युमन राइट्स वाचले सन् २०१३ मा १४० जना यौनकर्मी, ग्राहक, प्रहरी र विशेषज्ञहरूको अन्तर्वार्ता गरेर प्रतिवेदन तयार गरेको थियो। सो प्रतिवेदनमा धेरै यौनकर्मीलाई प्रहरी कुटपिट गरी बलपूर्वक देहव्यापारमा संलग्न भएको स्वीकार्न लगाइएको पत्ता लागेको छ। एक जनाले त झुक्याएर स्वीकृति बयान लिएको पनि दाबी गरिन्।प्रहरीले सबै ठीकै हुन्छ भने। मैले नाम मात्रै लेख्नुपर्ने र चार पाँच दिनपछि छाडिदिने भनेका थिए,” उनले भनिन्, “तर मलाई ६ महिनासम्म हिरसात र शिक्षा केन्द्रमा थुनियो।”एसिया क्याटलिस्टकी निर्देशक शेन तिङतिङले हिरासत केन्द्रमा बधुवा श्रम गराउने कदम सकारात्मक भए पनि यौनकर्मीको अधिकार सुरक्षा गर्ने सानो कदम भएको बताइन्।पेशागत रूपमा स्वास्थ्य र सुरक्षाको ढाँचा दिनुभन्दा चिनियाँ नीति र कानून यौन व्यापार निषेध गर्ने र त्यसविरूद्ध कारवाही गर्नमै केन्द्रित छन्,” उनले भनिन्।सन् २०१३ मा सानातिना अपराधमा संलग्न व्यक्तिलाई “श्रम शिविरमार्फत पुनर्शिक्षा” दिने प्रणाली अन्त्य गरेको चीनले घोषणा गरेको थियो।बलात्कृत छोरीका लागि न्याय माग्ने आमालाई पनि श्रम शिविर पठाइएको लगायतका उच्च पदस्थ व्यक्तिले गैरकानूनी कार्य गरेको थुप्रै घटनाहरू बाहिर आएपछि त्यस्तो निर्णय आएको हो।तर “हिरासत र शिक्षा” प्रणाली भने अन्त्य भएको थिएन। यसबाट यौनकर्मी र ग्राहक प्रभावित थिए। पुनर्शिक्षाको अवधारणालाई चीनले पूर्ण रूपमा त्यागेको भने होइन। सिन्जियाङको उत्तर पश्चिमी क्षेत्रमा थुप्रै स्वेच्छिक शिक्षा शिविर भएको र अतिवाद विरूद्ध लड्न सहयोग गरिरहेको अधिकारीहरूले दाबी गरेका छन्।तर चिनियाँ उइगरलाई ती शिविरमा थुनेर उनीहरूको आस्था आलोचना गर्न वा निन्दा गर्न लगाएको अधिकार समूहले दाबी गरेका छन्।