नेपाल भ्रमण वर्ष २०२० : प्रचार–प्रसारमा राजदूतहरू सक्रिय

प्रकाशित मिति:

काठमाडौं – आज जनवरी १ तारिख, इस्वीसम्वत् २०२० को पहिलो दिन। आजै सरकारले विशेष कार्यक्रममार्फत नेपाल भ्रमण वर्ष–२०२० को औपचारिक शुभारम्भ गर्दै छ। यसको प्रचार–प्रसारमा सरकार जति सक्रिय छ, त्योभन्दा कम सक्रिय छैनन् नेपालका लागि विभिन्न मुलुकका राजदूत। भ्रमण वर्षको पूर्वसन्ध्यामा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नयाँ वर्ष र नेपाल भ्रमणका लागि आग्रह गर्नुभएको छ। इतिहास, विविधता र प्रकृतिका कारण सुन्दर नेपाल घुम्नलायक रहेको उहाँले उल्लेख गर्नुभएको छ। होउले मंगलबार विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार स्क्वायरको विश्वनाथ मन्दिर र मूलचोक आसपासका आफूसमेत संलग्न तस्वीर ट्विट गर्दै नेपाल भ्रमणका लागि आग्रह गर्नुभएको हो।

‘सच्चा सुन्दरताले सधंै मन छुन्छ, सुन्दर नेपालको इतिहास, विविधता र प्रकृतिका कारण घुम्न योग्य छ’ –उहाँले ट्वीटमा उल्लेख गर्नुभएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई ‘मेन्सन’ गर्दै आफू र दरबार क्षेत्रका तस्वीर ट्वीट गर्नुभएको हो। भूकम्पले क्षतिग्रस्त विश्वनाथ मन्दिर हालै पुनः निर्माण गरिएको हो। मूलचोक दरबार स्क्वायरभित्रको मुख्य चोक मानिन्छ। राजदूत होउले यसअघि पनि नेपालका पर्यटकीय क्षेत्र, सुन्दरता र मौलिकताका विभिन्न तस्वीर र सूचनामार्फत भ्रमण वर्षको प्रचार गर्दै आउनुभएको थियो।

यस्तै नेपालका लागि अमेरिकी राजदूत र्यानडी बेरी पनि सामाजिक सञ्जालमार्फत नेपालको प्रचार–प्रसारमा निकै सक्रिय रहँदै आउनुभएको छ। आफ्नो मुलुक वा दूतावासको कार्यक्रम होस् या व्यक्तिगत भ्रमण, उहाँ नेपालका तस्वीर र भ्रमण गन्तव्यको प्रचार प्रसारमा जुटिरहेको देखिन्छ। राजदूत बेरी जहाँ पुगे पनि त्यहाँको मौलिक खाना र परिकार रुचाउनुहुन्छ। साथै नेपालका चाडवाड र लोकगीत संगीतमा पनि उहाँको झुकाब बढेको देखिन्छ।

गत मंसिर १९ (डिसेम्बर ५) स्वयंसेवी दिवसका दिन उहाँ र दूतावासका अधिकारीले गरेको ‘पानीले फिर्के, फिर्केले फनफल घट्ट घुमाकै हो…’ बोलको नृत्य ट्वीटमा अपलोड भएपछि निकै चर्चामा आएको थियो। भ्रमण वर्ष सफल पार्न सरकारले देश/विदेशमा प्रचार गर्दै विभिन्न क्षेत्रमा ख्याती कमाएका व्यक्तिहरूलाई भ्रमण वर्षको सद्भावना दूत नियुक्त गरेको छ।विभिन्न देशका राजदूतहरूलाई औपचारिकरूपमा सद्भावना दूत घोषणा नगरिए पनि उहाँहरूको भूमिका सो भन्दा कम नभएको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीको भनाइ छ। ‘हाम्रो लक्ष्य एक देशमा तीन जनासम्म सद्भावना दूत नियुक्त गर्ने थियो, तर तयारी गरेअनुसार हुनसकेन, राजदूतहरू आफ्नैतर्फबाट धेरथोर त्यस्तो भूमिकामा हुनुहुन्छ’ –उहाँले भन्नुभयो।