जेलमा रहेका निलम्बित सांसदको बजेट निकासा गर्न माग

प्रकाशित मिति:

काठमाडौं – निलम्बित भई जेल बसिरहेका कैलाली क्षेत्र २ बाट निर्वाचित रेशम चौधरीको क्षेत्रको स्थानीय साझेदारी विकास बजेटको रकम निकासा गर्न माग गरिएको छ । राष्ट्रियसभा बैठकको शून्य समयमा बुधबार सदस्य कमला वलीले उक्त क्षेत्रको बजेट निकासाको माग गरिन् । ‘‘रेशम चौधरी जेलमा रहेको अवस्थामा त्यस क्षेत्रको स्थानीय साझेदारी विकास कार्यक्रमअन्तर्गतको ६ करोड बजेट रोकिएको छ । त्यसकारण जनता साह्रै दुःखी भएको अवस्था छ । गत वर्ष मैले उक्त क्षेत्रको बजेट विनियोजन गर्ने मौका पाएको थिएँ,’’ उनले भनिन्, ‘‘त्यसकारण जनताले पटक–पटक मलाई भनेको अवस्था छ ।

त्यहाँका जनताका लागि भए पनि बजेट वक्तव्यमा आएको रकम तुरुन्त निकासा होस् भन्दै सम्बन्धित मन्त्रालय, नेपाल सरकार र यस सदनलाई जानकारी गराउँदै सरकारको ध्यानाकर्षण गराउँछु ।’ राष्ट्रियसभा सदस्य उदय शर्मा पौडेलले स्थानीय तहको लेखाप्रणाली व्यवस्थित गर्न तयार पारिएको सफ्टवेयरबाट स्थानीय तहको विवरण गायब पारिएको प्रति ध्यानाकर्षण गराएका थिए ।

उनले मंसिर १२ बाट पुुस ४ गतेसम्मको विवरण गायब पारिएको भन्दै आईटी सुरक्षित र भरपर्दो बनाउन सरकारको ध्यानाकर्षण गराए । ‘‘आपराधिक ह्याकरहरूले कब्जा गरेको अवस्था छ । केही समयअघि बैंकहरूको एटीएमबाट दुरुपयोग गरेर करोडौं लुटेको अवस्था थियो । यस्तो अवस्थामा आईटीलाई सुरक्षित र भरपर्दो बनाउन सरकारको ध्यान जाओस् ।’’राष्ट्रियसभा सदस्य तारादेवी भट्टले उखु किसानका विषयमा सरकारले ध्यान दिनुपर्ने बताइन् । उनले देशमा भ्रष्टाचार र अपराध फैलिएको अवस्थामा सरकारले त्यसको रोकथाम गर्नुको साटो अभिव्यक्ति स्वतन्त्रता कुष्ठित पार्ने गरी ऐन ल्याएको भन्दै चिन्तासमेत व्यक्त गरिन् ।