खाना महोत्सवका नाममा सडक बन्द गराइएपछि मुख्यमन्त्रीलाई आग्रह : ‘सामन्ती नाइके’ नबन्नुस्

१६ पुष २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया


सबलपोस्ट डेस्क/बुटवल- सर्वसाधारण र स्कुल–कलेजका विद्यार्थीको आवागमनमा अवरोध गरी बुटवलमा सञ्चालित सडक खाना महोत्सवको उद्घाटन गरेका मुख्यमन्त्री शंकर पोखरेललाई ‘सामन्ती नाइके’ नबन्न एक व्यवसायीले आग्रह गरेका छन् । अर्घाखांचीको मालारानी गाउंपालिका घर भई बुटवलमा व्यवसाय गर्दै आएका उमेश कुंवरले सार्वजनिक सडकमा तीन दिनसम्म आवागमन बन्द गराई आयोजित सडक खाना महोत्सवमा प्रमुख अतिथि बनेका मुख्यमन्त्री पोखरेललाई सडक बन्द गरिंदा आवतजावतमा कति प्रभाव पारेको छ सोच्नु भएको छ भनी प्रश्न गरेका छन् । ‘तपाइहरु त साइरन बजाएर हिँड्नुहुन्छ सर्वसाधारण जनतालाई सोच्नु न ? सडकै बन्द गरेर आन्तरिक पर्यटन विकास हुन्छ मुख्यमन्त्री ज्यु ?’–कुंवरले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै भनेका छन्–‘त्यसोभए सबै सडकमा विभिन्न संस्थालाई मेला, भेला र ठेला राख्न दिए भै गो नि ?’ सघन वस्तीका बीचमा सञ्चालन गरिएको महोत्सवले बालबालिकाको शिक्षामा परेको प्रभावको बारेमा सोच्ने कि भनेर मुख्यमन्त्रीलाई सुझाएका छन् । ‘रातदिनको भजन ( चर्को हल्ला ) ले विद्यार्थीको पढाई र परीक्षा तयारिमा कस्तो प्रभाव पार्ला सोच्नु पर्दैन र ?’–कुंवरले अन्तिममा भनेका छन्–‘सर्वहारा वर्गका सामन्ती नाइके नबन्न आग्रह छ ।’

मुख्यमन्त्रीलाई प्रश्न गर्ने र सुझाव दिने कुंवर सत्तारुढ नेकपाकै मतदाता हुन् । अंग्रेजी नयाँ वर्षको अवसरमा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले बुटवलको तिनकुनेदेखि शिवालयचोकसम्म करिब एक किलोमिटर दुरीमा सडक अवरुद्ध गरी खाना महोत्सव सञ्चालन गरेका कारण सो सडक खण्डमा आवतजावत गर्न नपाएपछि सर्वसाधारण रुष्ट बनेका छन् । खाना महोत्सव आयोजना गरिएको क्षेत्रमा लुम्बिनी शिक्षालय,एम्स स्कूल,स्कलर्स होम बोर्डिङ स्कूल, सिद्धार्थ इन्टरनेसनल कलेज र ग्लोरियस कलेज रहेका छन् । यो सडक मुख्य राजमार्गपछिको बुटवलको सवारी साधन र यात्रुको बढी चाप हुने सहायक सडक हो । बुटवलको पुरानो बसपार्कबाट योगिकुटी पुग्ने सडक को बीच भागमा करिब एक किलोमिटर अवरोध गरिएपछि सर्वसाधारण यात्रुले सास्ती पाएका छन् । खाना महोत्सवका कारण स्कूल र कलेजको पढाई प्रभावित बनेको छ । बसबाट स्कूल कलेज जाने विद्यार्थी गन्तव्यसम्म पुग्न नपाई पैदल हिंड्न वाध्य भएका छन् । उद्योगी व्यापारीका कार्यक्रममा बोल्दा प्रायजसो अनेक सुझाव दिने गरेका मुख्यमन्त्री पोखरेलले सडक बन्द गरेर खाना महोत्सव गरेकोबारे भने विरोध र आलोचना गरेनन् । ‘सडक बन्द गरेर गेट र टेन्ट टांगिएका कारण सघन वस्ती भएको ठाउंमा कुनै कारणवश आगलागी भयो भने दमकल आउन सक्दैन,दुर्घटना भएर तत्काल अस्पताल पुर्याउने अवस्था आयो भने एम्बुलेन्स हिंड्ने ठाउं समेत छैन’–स्थानीय अर्जुन घिमिरले भने–‘यस्तो बेथितिलाई स्थानीय र प्रदेश सरकारले रोक्नुको साटो प्रोत्साहित गरिरहेका छन् ।’

खाना महोत्सवलाई सडकमा सञ्चालन गर्नका लागि बुटवल उपमहानगरपालिकाले स्वीकृति समेत प्रदान नगरेको उद्योग वाणिज्य संघ बुटवलका उपाध्यक्ष हरि अर्यालको दावी छ । तर मेयर शिव सुवेदी र प्रदेश सरकारका पर्यटन मन्त्री समेत महोत्सव उद्घाटनमा गउर भाषण गरेका थिए । महोत्सवमा चर्को आवाजमा सुनिने साउण्ड सिस्टमसहितको सांस्कृतिक कार्यक्रमले विद्यालय–कलेजको पढाई बिथोलिएको ग्लोरियस कलेजका प्राध्यापक पुष्प घिमिरले बताए । ‘मोटरसाइकल–स्कुटरमा आउने विद्यार्थीले आवत जावतमा अप्ठ्यारो भयो, पढाईमा पनि असर भयो भनेर गुनासो गरेका छन्’–घिमिरेले भने–‘विद्यार्थीको गुनासो जायज छ आयोजकले अब खाना महोत्सव यसरी स्कूल कलेजलाई डिस्टर्ब हुने र सडक अवरुद्ध हुनेगरी गर्न हुंदैन ।’सर्वसाधारणको आवागमनमा अवरोध पुर्याई सडकमा महोत्सव÷ब्यापार गर्नु गैर कानूनी र नागरिक निर्वाध हिंडडुल गर्न पाउने स्वतन्त्रताको हक विरुद्ध भएको बताए । ‘भारतको दिल्लीमा यस्तै सडकमा महोत्सव गर्दा अदालतमा मुद्दा परेपछि दिल्ली उच्च अदालतले फैसला गयो र सधैंका लागि सडकमा मेला महोत्सव गर्न बन्द भएको नजिर छ’–अधिवक्ता  महेन्द्र पाण्डेले भने–‘तीन दिनसम्म सडकमा अवरोध पुयाएर ब्यापार गर्दा समेत हामीकहां कसैले प्रश्न नउठाउनु र मुख्यमन्त्री नै प्रमुख अतिथि बनेर उद्घाटन गर्नु विडम्वना हो ।’ पर्यटन प्रवद्र्धन वा जुनसुकै नाममा महोत्सव गर्दा वस्ती भन्दा केही टाढा, सर्वसाधारणलाई आवागमनमा असर नपर्ने र विद्यालय,कलेजको पढाई प्रभावित नहुने थलोमा मात्रै गर्नुपर्ने उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष तेजकुमार पाठक बताउंछन् । तीन दिने खाना महोत्सवमा दुई लाख अवलोकनकर्ता सहभागी हुने र पांच करोडको कारोबार गर्ने आयोजकको लक्ष्य छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया