चितवन सौराहामा हात्तीलाई वनभोज 

प्रकाशित मिति:

चितवन/सौराहामा जारी १६औँ चितवन हात्ती महोत्सवअन्तर्गत बुधबार हात्तीलाई वनभोज खुवाइएको छ ।महोत्सवको कार्यक्रममध्ये हात्तीको वनभोज निकै आकर्षक मानिन्छ । आयोजक क्षेत्रीय होटल सङ्घ सौराहा चितवनका अनुसार वनभोजमा ८५ वटा हात्ती सहभागी भएका थिए ।वनभोजमा हात्तीलाई मन पर्ने खानेकुरा दिइन्छ । धेरै हात्तीलाई एकै ठाउँमा जम्मा गरी उनीहरुलाई मनपर्ने खानेकुरा, फलफूल, बन्दा, उखु, फर्सी, गाजर आदि खान दिइएको क्षेत्रीय होटल सङ्घ सौराहा चितवनका उपाध्यक्ष तथा खेल संयोजक अञ्जनकुमार पाण्डेले जानकारी दिए ।

उनले वनभोजमा चितवन राष्ट्रिय निकुञ्ज र निजीरूपमा पालिएका हात्तीहरु सहभागी भएको बताए । हात्ती वनभोज कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले विशेष मौका परी वनभोज खुवाउँदा हात्तीप्रतिको सम्मान झल्कने र सकारात्मक सन्देश जाने बताए ।हात्तीका यस्ता गतिविधि हेर्न स्वदेशी तथा विदेशी पर्यटकहरुको सौराहामा ठूलो भीड लाग्ने गरेको छ ।नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष शुभारम्भसँगै जारी हात्ती महोत्सवलाई महत्वका साथ लिइएको छ । क्षेत्रीय होटल सङ्घ नेपाल चितवनको आयोजनामा शुक्रबारसम्म बाघमारा सामुदायिक वनको चौरमा महोत्सव सञ्चालन हुँदैछ ।