काश्मीर भीडन्तमा मारिए नेपाली युवा अर्जुन थापा

प्रकाशित मिति:

जम्मु – जम्मु काश्मीरमा बुधबार पाकिस्तानसँग भएको गोली हानाहानका क्रममा एकजना नेपाली युवाको मृत्यु भएको छ । उनी भारतीय सैनिक जवान हुन् । पाकिस्तासँगको भीडन्तमा दुईजना भारतीय सैनिकको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

नयाँ वर्षको सुरुवातकै दिनमा पाकिस्तानका तर्फबाट प्रहार गरिएको गोली लागेर गोरखा घर भएका नेपाली युवा अर्जुन थापा मगर र नायक सन्दीप रघुनाथको मृत्यु भएको थियो । रघुनाथ महाराष्ट्र निवासी हुन् भने अर्जुन गोरखाका भएको हिन्दुस्तान टाइम्सले जनाएको छ । रक्षा प्रवक्ताले दुवै युवा बहादुर, उच्च मनोवल भएका र इमान्दार भएको बताएका छन् ।

बुधबार काश्मीरमा गोली चल्दा दुई भारतीय सेनाको मृत्यु भएको थियो । लाइन अफ कन्ट्रोलमा पाकिस्तानका तर्फबाट हानेको गोली लागेर उनीहरुको मृत्यु भएको थियो । दुईजना भारतीय सैनिकले सर्च अपरेशन गर्ने क्रममा पाकिस्तानका तर्फबाट गोली चलेको थियो । लामो समयदेखि विवादित जम्मु काश्मीरको लाइन अफ कन्ट्रोलमा दुवै पक्षबाट गोली हानाहान भने अझै रोकिएको छैन । भारतका नवनियुक्त सेना प्रमुख मनोज मुकुन्द नरभानेले पाकिस्तानलाई सीमापार आतंकवादप्रति भारतको प्रतिक्रिया संयन्त्रमा नयाँ सामान्य भइसकेको बताएका थिए । –बाह्रखरी