एसपी मल्ललाई १२ घण्टाभित्र जिल्ला छाड्न निर्देशन

प्रकाशित मिति:

काठमाडौं – चितवनका एसपी दानबहादुर मल्ललाई १२ घण्टाभित्र जिल्ला छाड्न ३ नम्बर प्रदेश प्रहरी कार्यालयले निर्देशन दिएको छ । सरुवा भएको १३ दिनसम्म पनि जिल्ला नछाडेपछि उलाई यस्तो निर्देशन दिनुपरेको कार्यालयले जनाएको छ । प्रदेश प्रहरी कार्यालयले बुधबार दिएको निर्देशनमा भनिएको छ, ‘‘दानबहादुर मल्ल हालसम्म पनि सरुवा भएको दरबन्दीमा रवाना गरेको जानकारी यस कार्यालयमा प्राप्त हुन नआएकाले तहाँ कार्यरत प्रहरी नायब उपरीक्षकलाई सम्पूर्ण चार्ज बुझाई १२ घण्टाभित्र ठेकिएको दरबन्दीमा रवाना गरी सोको जानकारी तालुक कार्यालय तथा यस कार्यालय समेतमा दिन निर्देशन गरिन्छ ।’’

एक प्रहरी अधिकारीले भने, ‘‘समय नै तोकेर निर्देशन दिनु ठूलो कुरा हो । यस्तोमा निर्देशन नमाने प्रहरी प्रधान कार्यालयले कारबाही गर्ने अवस्था आउँछ ।’’ पुस ४ गते एसपी मल्लसहित २४ एसपीको प्रहरी प्रधान कार्यालयले सरुवा गरेको थियो । उनको स्थानमा एसपी गंगा पन्तको चितवन सरुवा भएको थियो । मल्ललाई भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको प्रहरी कार्यालयमा सरुवा गरिएको थियो ।