नेकपा सचिवालय बैठक बस्दै, सभामुख र राष्ट्रियसभा सदस्यको चयन गर्ने

प्रकाशित मिति:

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ । बैठक अपराह्न ४ बजेका लागि बोलाइएको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजका लागि सचिवालय बैठक बोलाइएको बताए । विहीवार एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले नेकपाको सचिवालय बैठक आजका लागि बोलाइएको र त्यस अघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफ्नो छलफल रहेको जानकारी दिए ।

‘प्रधानमन्त्री ज्यूले साढे १२ बजेभित्र काठमाडौं आइपुग्न भन्नु भएको छ’ कार्यक्रममा प्रचण्डले भने,‘हामीले राष्ट्रियसभा सदस्यहरुको छनोट गर्नुपर्ने छ भने सभामुखको चयन गर्ने कुरा छ ।’ नेकपाले सभामुखको उम्मेदवार चयन लगाउन सकेको छैन । जसका कारण प्रतिनिधि सभाको बैठक समेत बस्न सकेको छैन । सभामुखमा ओलीले सुवास नेम्वाङ र प्रचण्डले अग्नी सापकोटालाई अघि सारेका छन् । जसका कारण सभामुख चयनमा समस्या देखिएको छ ।