प्रदेशको सीमांकन फेरेर मगरात बनाउन माग

१७ पुष २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


बुटवल  । समाजवादी मगर संघ नेपालले हालको प्रदेशहरुको सीमांकन आदिवासी जनजातिहरुलाई विभाजन गर्ने गरी अन्यायपूर्ण र अवैज्ञानिक भएकाले संविधान संशोधन गरेर पुनः सीमांकन गर्न माग गरेको छ । समाजवादी पार्टी निकट संघले अन्तरिम संविधान २०६३ तथा आदिवासी जनजाति र मधेश आन्दोलनको भावना अनुसार राज्य पुनःसंरचना आयोगको सिफारिस अनुसार पहिचानका पांच र सामथ्र्यका चार आधारमा प्रदेशहरुको सीमांकन हुनुपर्ने माग गरेको हो । मगरहरुको सघन वस्ती भएका १६ जिल्लालाई समेटेर स्वायत्त मगरात प्रदेश बनाइनुपर्ने तथा प्रदेश ५ को नामाकरण मगरात–थरुहट बनाउन चरणवद्ध अभियान चलाइने समाजवादी मगर संघका केन्द्रीय अध्यक्ष बोम दर्लामीले बताए । संघको यही पुस १९ गते तानसेनमा हुने प्रादेशिक भेलापछि संविधान संशोधन गरी पहिचान र सामथ्र्यका आधारमा प्रदेशहरुको नयां सीमांकन गर्न माग गर्दै सरकार र सरोकारवालासंग डेलिगेसन जाने,विचार मिल्ने राजनीतिक दल र व्यक्तित्वसंग अन्तर संवाद गर्ने लगायतका कार्यक्रम दवावमूलक ढंगले अघि बढाइने दर्लामीले बताए ।

‘अहिले गरिएको प्रदेशहरुको सिमांकन र अन्य प्रदेशका नामाकरण पञ्चायती व्यवस्थाका जस्तै छन्’–समाजवादी पार्टीका केन्द्रीय सदस्य समेत रहेका दर्लामीले भने–‘हामी यस्तो अवैज्ञानिक सिमांकन र नाम मान्दैनौं,पहिचान र अधिकारका लागि आन्दोलनमा जान्छौं ।’ अहिलेको शासकीय स्वरुप र निर्वाचन प्रणालीले मुलुकमा भ्रष्टाचार मात्रै बढाउने र संघीयताप्रति जनतामा वितृष्णा बढाउने भएकाले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जान संविधान संशोधन अपरिहार्य रहेको अध्यक्ष दर्लामीले स्पष्ट पारे । पत्रकार सम्मेलनमा पार्टीका प्रदेश सह–इन्चार्ज नवीन सुनुवारले तत्कालीन राज्य पुनःसंरचना आयोगको सुझाव अनुसार पहिचान र सामथ्र्यका आधारमा ११ प्रदेश बनाउनुपर्ने र स्थानीय तह तथा प्रदेश सभा सदस्यको संख्या आधा कटौति गर्नुपर्ने पार्टीको अवधारणा रहेको बताए । समाजवादी मगर संघका प्रदेश ५ संयोजक चोपलाल राहुल मगरले प्रादेशिक भेलामा प्रदेशका १२ वटै जिल्लाबाट करिब सय जना प्रतिनिधि सहभागी हुने र भेलाले मगरात प्रदेश सिमांकन र नामाकरणका लागि चरणवद्ध आन्दोलनका कार्यक्रम तय गर्ने बताए । पत्रकार सम्मेलनको सञ्चालन समाजवादी मगर संघका केन्द्रीय सचिव तेजु रानाले गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया